लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा लगातार चौथो खेलमा जित निकालेको छ। लुम्बिनीले बुधबार भएको खेलमा फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गर्यो।
पहिले ब्याटिङ गरेको फार वेस्टले ६ विकेटको क्षतिमा १३७ रन जोड्यो। उसका लागि देव खनालले ४८ रन जोडे भने हश्मातुल्लाह शाहिदीले ३२ रन जोडे। बलिङमा लुम्बिनीका स्याड्ली भान स्कालवेकले २ विकेट लिए।
जवाफी ब्याटिङ गरेको लुम्बिनीले पनि २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन नै जोड्दा स्कोर बराबर भयो।
अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि पाँच रन चाहिएको अवस्थामा उसले चार रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरको पहिलो खेलमा फार वेस्टका करण केसीले लुम्बिनीका स्याड्लीलाई आउट गरे। त्यसपछि गुल्शन झा र सागर ढकाल ब्याटिङमा थिए। तर अन्तिम बल बाँकी रहदा उसलाई जितका लागि ३ रन र स्कोर बराबर गर्न २ रन चाहियो। जसमा गुल्शन झाले २ रन मात्र लिन सके।
लुम्बिनीका लागि झाले नटआउट ३६ रन जोडे भने लाहिरु मिलन्थाले ३४ रन र विपुल शर्माले ३१ रन जोडे।
स्कोर बराबरी भएपछि सुपर ओभरमा लुम्बिनीले १९ रन जोड्यो। फार वेस्टका करणको बलिङमा लुम्बिनीका लाहिरुले २ छक्कासहित कुल १८ रन जोडेका थिए।
त्यसपछि फार वेस्टले सुपर ओभरमा १० रन मात्र जोड्न सक्यो। लुम्बिनीका किशोर महतोको बलिङमा फार वेस्टका हश्मातुल्लाहले पहिलो बलमा छक्का प्रहार गरे पनि अरु बलमा बाउन्ड्री हान्न सकेनन्।
लगातार चार जितसहित ८ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा रहदा फार वेस्ट २ अंकसहित चौथो स्थानमा छ।