बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखलाअन्तर्गत दोस्रो टी-२० खेलमा हङकङ क्रिकेट क्लबले बिहिबार आयोजक बागमती प्रदेशलाई ११ रनले हराएको छ।
यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी– २० शृङ्खला हङकङले २–० ले आफ्नो पक्षमा पार्यो।
पहिलो टि२० खेल हङकङकले ५७ रनले जितेको थियो। यसअघि बागमतीले ४० ओभरको दुई खेलको शृङ्खलामा भने हङकङको टिमलाई २–० ले हराएको थियो।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । घरेलु टिम बागमतीले जवाफमा छ विकेटको क्षतिमा १०२ रन मात्र बनाउन सक्यो।
बागमतीकी कञ्चन श्रेष्ठले ४८ बलमा सात चौकासहितको ५२ रनको अर्धशतक बनाए। हङकङकी बेटी चानले दुई तथा केरी चानले एक विकेट लिए।
यसअघि, हङकङका लागि केरीले सर्वाधिक २६ रन बनाउनुभएको थियो। केरी नै फाइलनकी उत्कृष्ट खेलाडी घोषित भइन्। बागमतीकी सोनी पाख्रीनले दुई तथा अस्मिना कर्माचार्य, खुशी डंगोल र विपिसा साहीले एक–एक विकेट लिए।
हङकङकी केरीले प्रतियोगितामा नै सबभन्दा बढी रन बनाएर उत्कृष्ट ब्याटरको पुरस्कार पनि पाइन्। बागमतकी सोनी ११ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडी बनिन्। उनी नै प्रतियोगिताकी सर्वश्रेष्ठ खेलाडी चयन भइन्।