भारतीय क्रिकेटर रिशव पन्त कार दुर्घटनामा परेका छन्। शुक्रबार बिहान उनको कार दुर्घटनामा परेको हो। उनको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएको थियो।
देहरादुन म्याक्स अस्पतालका डा आशिष याज्ञिकले पन्तको चोटबारे भनेका छन्, 'अर्थोपेडिक सर्जन र प्लास्टिक सर्जन सहित डाक्टरहरूको टोलीले उनको चोट जाँच गरिरहेको छ। अनुसन्धान र मूल्याङ्कन प्रक्रिया पूरा भएपछि मात्रै थप उपचारको दिशा के हुन्छ थाहा हुन्छ।’
घटनाको विषयमा हरिद्वारका एसएसपी अजय सिंहले अघि भनेका छन्, ‘दुर्घटना बिहान ५.३०-६ बजेको बीचमा भएको थियो। पन्तको कार डिभाइडरमा ठोक्किएको थियो। अगाडिको सिसा फुटेर उनी बाहिर निस्किएका थिए। त्यसपछि कारमा आगो लागेको थियो। प्राथमिक उपचारपछि सपोर्टसहितको एम्बुलेन्स बोलाएर उनलाई देहरादुनको म्याक्स अस्पतालमा पठाइएको छ।’
उनको खुट्टा, ढाड र टाउकोमा पनि चोट लागेको बताइएको छ।
दुर्घटनापछि कारमा आगो लागेको र पूरै जलेको छ।
बिहान ६ बजे पन्तलाई अस्पताल ल्याउँदा उनको अवस्था अलिक नाजुक देखिएको थियो। तर, एक्स–रेपछि हड्डीमा कुनै चोट नभएको थाहा भएको थियो। यद्यपि दाहिने घुँडाको लिगामेन्टल चोट छ।
पन्तले दिल्लीबाट आउँदै गरेको र आमालाई सरप्राइज दिन चाहेको बताएका छन्।