नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
लगातार पाँच खेलमा जित निकाल्ने क्रममा लुम्बिनीले शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १५० रन जोड्यो।
उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे। उनले २७ बलमा ३ चौका र १ छक्का हिर्काए।
लाहिरु मिलान्थाले २५ रन, स्याड्ली भान स्कालवेकले नटआउट २१ रन जोडे।
बलिङमा काठमाडौंका अज्मतुल्लाह ओमारजाइले२ विकेट लिए।
१५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले ८ विकेटको क्षतिमा ११५ रन मात्र जोड्न सक्यो।
ओपनरद्वय विरनदीप सिंह र लोकेश बम तथा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भएका थिए। दोस्रो ओभरमा तीन विकेट गुमाएको काठमाडौंका बम रनआउट हुँदा मल्ल र सिंहलाई लुम्बिनीका हरमित सिंहले आउट गरे।
काठमाडौंका ओमारजाइले ३८ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा लुम्बिनीका हरमितले ३ विकेट लिए।
लिगमा शीर्ष स्थानमा रहेको लुम्बिनीले पाँच खेलबाट १० अंक जोडेको छ। तेस्रो स्थानको काठमाडौंको चार खेलबाट चार अंक छ।