नेपाल टी-२० लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी अलस्टार्सले पहिलो हार बेहोरेको छ।
लुम्बिनीलाई शनिबार भएको खेलमा पोखरा एभेन्जर्सले ९ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको लुम्बिनी १२७ रनमै आउट भयो। उसका लागि हरमित सिंहले सबैभन्दा बढी ३८ रन जोडे। बलिङमा पोखराका जाहिर खान र विपिन खत्रीले २-२ विकेट लिए।
१२८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पार गर्यो। उसका लागि आसिफ शेखले ७७ रन जोडे। उनले ६२ बलमा ९ चौका प्रहार गरे।
यता अर्को खेलमा जनकपुरले विराटनगर सुपरकिंग्सलाई ४९ रनले हरायो।
पहिले ब्याटिङ गरेको जनकपुरले ५ विकेटको क्षतिमा १८९ रन जोडेको थियो। उसका लागि समिउल्लाह शिनवारीले नटआउट ७८ रन जोडे। उनले ४० बलमा ६ चौका र ६ छक्का हिर्काए।
बलिङमा विराटनगरका हुसेन तलात र सूर्य तामाङले २-२ विकेट लिए। १९० रन पछ्याएको विराटनगरले ७ विकेटको क्षतिमा १४० रन मात्र जोड्न सक्यो। उसका लागि तलातले ४२ रन जोडे।
बलिङमा जनकपुरका शिनवारीले ३ विकेट लिए।
लिगमा लुम्बिनी ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको जनकपुरको ५ खेलबाट ८ अंक छ भने काठमाडौं नाइट्स ४ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको विराटनगरको ५ खेलबाट ४ अंक, पाँचौ स्थानको पोखराको ७ खेलबाट ४ अंक र पुछारको फार वेस्टको ५ खेलबाट २ अंक छ।