भारतीय क्रिकेटर ऋषभ पन्त शुक्रबार दुर्घटनामा पर्दा गम्भीर घाइते भए। उनको टाउको र घुँडामा गम्भीर चोट लागेको छ भने ढाड र खुट्टाको केही भागमा पनि चोट छ।
पन्तको कार दिल्ली–देहरादुन राजमार्गको रुर्की नजिकको सडकको डिभाइडरसँग ठोक्किएको थियो।
मोहम्मदपुर जाट क्षेत्रमा भएको दुर्घटनापछि बस ड्राइभरले पन्तको उद्दार गरेका थिए। ड्राइभरले पहिले बस रोकेर पन्तलाई कारबाट टाढा लगेका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो।
कार डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेपछि पन्त आफैंले झ्यालको सिसा तोडेर बाहिर निस्केको बताएका थिए। त्यसपछि कारमा आगो लागेको थियो।
उनको कार दुर्घटना हुँदा पछाडि बस गुडिरहेको थियो।
हरिद्वार एसएसपी अजय कुमारका अनुसार कार दुर्घटना हुँदा हरियाणा रोडवेजको बसले पछ्याइरहेको थियो। कार दुर्घटना भएको देखेपछि बस ड्राइभर सुशील कुमारले बस रोकेर फोन गरी जानकारी दिएका थिए। त्यसपछि पन्तलाई अस्पताल लगिएको थियो।
घटनाबारे चालक सुशील कुमारले भारतीय मिडियालाई भनेका छन्, ‘म हरियाणा रोडवेजमा बस चलाउने ड्राइभर हुँ। म हरिद्वारबाट आउँदै थिएँ। हामीले दुई सय मिटर अगाडि दिल्लीतर्फबाट आइरहेको एउटा कार लगभग ६०-७० किलिमिटरको गतिमा डिभाइडरमा ठोक्किएको देख्यौं। ठोक्किएपछि कार हरिद्वार लाइनमा आयो। त्यसपछि बस पनि ठोक्किने अवस्था देखेँ। किनभने मात्र ५० मिटरको दूरी थियो। मेरो गाडी ५०–६० को गतिमा थियो। मैले तुरुन्तै ब्रेक लगाए। त्यसपछि झ्यालको छेउबाट हाम फालें। उनी मैले कार चालकलाई देखे। उनी भुइँमा पल्टिएका थिए । ऊ बाँच्ने छैन भन्ने लाग्यो। उनी (पन्त) उनको छेउमा सुतिरहेका थिए। हामीले उसलाई उठायौं र कारबाट टाढा लैजायौं। मैले सोधेँ– गाडी भित्र अरु कोही छ। उनले एक्लै भएको बताए। त्यसपछि उनले म ऋषभ पन्त हुँ भने। मलाई क्रिकेटको बारेमा त्यति थाहा छैन। उनलाई छेउमा उभ्यायौं। उसको शरीरमा कुनै लुगा थिएन, त्यसैले हामीले उसलाई आफ्नो चादरमा बेर्यौं।’
त्यसक्रममा पन्तले आफ्नो आमाको नम्बरमा फोन लगाउन भनेको ड्राइभर सुशील कुमारले बताएका छन्। पछि कारबाट फोन ल्याएर नम्बर डायल गर्दा उनको आमाको फोन स्विच अफ भएको थाहा भएको थियो। त्यसपछि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो।
पन्त आफ्नी आमालाई ‘सरप्राइज’ दिन कुनै खबर नगरी दिल्लीबाट राति कार लिएर निस्किएका थिए।