अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) मा आइतबार लिइएको एक क्याच विवादित बनेको छ।
खेलमा ब्रिसबेन हिटका माइकल नेसरले सिड्नी सिक्सर्सविरुद्धको खेलमा लिएको क्याचको विवादित बनेको हो।
बाउन्ड्रीबाहिर करिब ३ मिटर टाढा रहेको यो क्याचलाई कतिपयले छक्का भनेका छन् भने कतिपयले यसलाई सहि क्याचको रुपमा लिएका छन्।
लिगमा ब्रिसबेन र सिड्नीबीचको खेलमा नेसरले क्याच समातेका थिए, जुन देखेर सबै छक्क परेका थिए।
जोर्डन सिल्कलाई आउट गर्न नेसरले बललाई बाउन्ड्री नजिकै क्याच गरेर हावामा छाडेका थिए। त्यसपछि बल बाउन्ड्री पार गर्दै पर गएको थियो। त्यसपछि हावामै रहेको बललाई नेसरले बाउन्ड्री बाहिरबाट उफारे भित्र पुर्याए। अनि उनी बाउन्ड्री लाइन भित्र फर्किए र क्याच लिए। यहाँ आएपछि उनले खुशी मनाए। पछि अम्पायरले आउटको इशारा गरेपछि सबै छक्क परे।
तर, क्रिकेटको नियम हेर्दा बाउन्ड्रीबाहिर खेलाडीको क्याच मान्य नहुने बताइएको छ। यस बहसको बीचमा एमसीसीले क्रिकेटको नियमबारे जानकारी दिँदै क्याच लिँदा बल र खेलाडीको पहिलो सम्पर्क बाउन्ड्री भित्र हुनुपर्ने बताएको छ।
नियम अनुसार नेसरको क्याच सही छ। तर यसले नियममा नै प्रश्न खडा गरेको छ।
खेलमा ब्रिसबेनले पहिले ब्याटिङ गर्दै २२४ रन बनाएको थियो। जवाफमा सिड्नी सिक्सर्सले २०९ रन मात्र बनाउँदा खेल १५ रनले हारेको थियो।