राष्ट्रिय क्रिकेटरद्वय शरद भेषावकर र आरिफ शेखले नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय हुनु पर्ने बताएका छन्।
दुवै जनाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्दीपलाई न्याय हुनु पर्ने भन्दै लेखेका हुन्। शरदले एक पोस्ट सेयर गर्दै ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखेका छन्।
आरिफले पनि ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेख्दै न्याय हरेक मानिसको हक भएको बताएका छन्। उनले सन्दीपलाई जतिसक्दो चाँडो न्याय होस् भन्दै सन्दीपले देशलाई फेरि गौरवान्वित गर्न सकुन् भनेर कामना समेत गरेका छन्।
सन्दीपलाई पछिल्लो समय डिप्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएकी थिइन्।
सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन्।
गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीय नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप उनीमाथि छ। गत भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।
सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।
उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।