कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी-२० लिग खेलिरहेका विदेशी खेलाडीले श्रम स्वीकृती नलिएको सम्बन्धमा छानविन गर्न नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्ले कार्यदल गठन गरेको छ।
खेलकुद परिषद्को बुधबार बसेको कार्यकारी समितिको बैठकले सत्यतथ्य छानविन गरी १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
५ सदस्यीय कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकासकुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन्।
साथै लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको सम्बन्धमा क्यानसँग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको वेवास्ता गरेको पनि परिषद्को भनाइ छ।
पछिल्लो समय प्रतियोगिता संचालनका क्रममा क्यानबाट भएका कमजोरी एवं विसंगतीको बारेमा सार्वजनिक भएको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको पनि परिषद्को भनाइ छ।
यसअघि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई ‘फिक्सिङ’का लागि प्रस्ताव आएको बताएका थिए।
मंगलबार विराटनगर सुपरकिंग्सविरुद्धको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञानेन्द्रले आफ्नो टिमका एक खेलाडीलाई प्रस्ताव आएको खुलासा गरेका थिए।
‘हाम्रो टिमका एक साथीलाई पनि एप्रोच गरिएको थियो। उनले तत्काल हामीलाई जानकारी गराएपछि हामीले एन्टी करप्सन युनिटलाई खबर गर्यौं,’ कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी लिगमा फिक्सिङ भएको विषयमा गरिएको प्रश्नमा ज्ञानेन्द्रले भने।
उनले कुन खेलाडीलाई कस्तो खालको प्रस्ताव आएको भने खुलाएनन्।
फिक्सिङसहित अरु खराब क्रियाकलापको निगरानीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) प्रतिनिधिको रूपमा वीर सिंहलाई एन्टी करप्सन युनिटको प्रमुख बनाएको छ।
तर उनी आइसिसीको एन्टी करप्सन युनिटबाट रिटायर्ड भइसकेको पाइए पनि क्यानले आइसिसीसँगकै समन्वयमा उनलाई लिखित रुपमा नियुक्त गरेको बताएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिगका खेलमा फिक्सिङसहितका अन्य गतिविधि भएमा एन्टी करप्सन युनिटमा खबर गर्न सकिने बताउँदै आएका छन्।
फिक्सिङको बारेमा पटकपटक कुरा उठ्दा अध्यक्ष चन्दले एन्टी करप्सन युनिटमा जानकारी गर्न सकिने र दोषी पाए कारबाही गरिने बताएका छन्।
क्यानको एन्टी करप्सन युनिटीमा खबर आएपछि युनिटले क्यानलाई जानकारी दिनुपर्छ। त्यसपछि क्यानले आइसिसीलाई खबर गर्नुपर्छ।
लिगका कमेन्टेटर सचिन तिमल्सेनाले पनि जारी लिगमा फिक्सिङ भएको बताउँदै आफू लिगबाट अलग भएको बताएका थिए। उनले विराटनगर टिमका कतिपय खेलाडीले स्पट फिक्सिङ गरेको दाबी गरेका थिए।