पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै जनकपुर रोयल्स नेपाल टी-२० लिगको प्लेअफमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलअघि जनकपुरको १२ अंक भएको छ। शीर्ष स्थानमा रहेको लुम्बिनी अलस्टार्सले भने अन्तिम खेलअघि क्वालिफायर्समा स्थान बनाएको थियो।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमै अलआउट भयो। ओपनर आसिफ शेखले १६ रन जोड्दा कुशल मल्ल पनि १६ रनमै आउट भए। टिमका लागि सर्वाधिक रन जोडेका सिद्धान्त लोहनी १७ रनमा आउट भएका थिए।
पोखराको इनिङ ध्वस्त पार्ने क्रममा जनकपुरका सोमपाल कामीले ३ विकेट लिए। उनले २ ओभरमा ८ रन खर्चिए। ललित राजवंशी र शराफुद्दिन असरफले २-२ विकेट लिए।
६९ रनको सामान्य लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। उसका लागि असरफले ३७ रन जोड्दा कप्तान ट्रेवन ग्रिफिप्तले १३ बलमा १७ रन जोडे।
लिगमा पोखरा समूह चरणको अन्तिम खेलअघि ६ अंक जोडेर पाँचौ स्थानमा छ। उसलाई प्लेअफमा पुग्न अब अन्तिम खेल जित्नु पर्ने बाध्यता भएको छ।