श्रीलंकाले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली भारतलाई पराजित गरेको छ।
बिहीबार राति सम्पन्न खेलमा पाहुना टोली श्रीलंकाले भारतलाई १६ रनले हराउँदै तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ।
जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन बनायो। उसका लागि अक्षर पटेलले सर्वाधिक ६५ रन बनाउने क्रममा ३१ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। यस्तै सूर्यकुमार यादवले ५१ रन बनाउन ३६ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे।
शिवम माभीले १५ बलमा २ चौका र २ छक्कासहित २६ तथा कप्तान हार्दिक पाण्ड्याले १२ रन बनाउनु बाहेक अन्यले सम्झन लायक प्रदर्शन गरेनन्।
ओपनर ईशान किशनले दुई रन बनाउँदा अर्का ओपनर शुभमन गिलले ५ रन जोडे। यस्तै डेब्यू खेल खेलेका राहुल त्रिपाठीले पाँच रन जोड्दा दीपक हुडा ९ रनमा आउट भए।
श्रीलंकाका दासुन शानका, कसुन रजिथा र दिलशान मदुशनकाले समान २-२ विकेट लिए। चामिका करुणारत्ने र वानिन्दु हसरंगाले एक-एक विकेट हात पारे।
त्यसअघि पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो। उसका लागि कप्तान दासुन शानका २२ बलमा २ चौका र ६ छक्कासहित ५६ रनमा अविजित रहे।
यस्तै ओपनर कुशल मेन्डिसले ३१ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाउँदा अर्का ओपनर पाथुम निसांकाले ३५ बलमा ३३ रन जोडे।
चरिथ असलंकाले ३७ रन बनाउँदा भानुका राजपक्षे २ रनमै आउट भए। धनन्जय डि सिल्भा ३, वानिन्दु हसरंगा शून्य र चामिका करुणारत्नेले ११ रन बनाए।
भारतका लागि उमरान मलिकले ३ विकेट लिए। अक्षर पटेलले २ तथा युजभेन्द्र चहलले एक विकेट हात पारे।
यसअघि पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो। तेस्रो तथा निर्णायक टी २० खेल भोलि शनिबार राजकोटमा हुनेछ।