महत्वपूर्ण खेलमा विराटनगर किंग्ससँग ३ रनले पराजित भएपछि फार वेस्टको नेपाल टी-२० लिगको प्ले अफमा पुग्ने सम्भावना सकिएको छ।
शुक्रबार भएको आफ्नो नवौं खेलमा फार वेस्टले अन्तिम दुई बलमा दुई विकेट गुमाएपछि हार बेहोर्यो। अन्तिम दुई बलमा उसलाई जितका लागि चार रन चाहिएको थियो। तर पाँचौ बलमा उमर अली र छैठौं बलमा दुर्गेश गुप्ता रनआउटको सिकार भए।
विराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याएको फार वेस्टले ९ विकेटको क्षतिमा १४४ रन जोड्यो। फार वेस्टका लागि कप्तान हश्मतुल्लाह शाहिदीले ५८ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा विराटनगरका राज नाननले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १४७ रन जोड्यो। उसका लागि हुसेन तलातले ५० रनको योगदान गरे।
बलिङमा फार वेस्टका उमर अलीले २ विकेट लिए। लिगको अन्तिम खेलअघि पुछार/छैटौं स्थानको फार वेस्टको ९ खेलबाट ४ अंक छ। विराटनगरनको ८ अंक छ।
समूह चरणको अन्तिम दिन शनिबार काठमाडौं नाइट्स र विराटनगर तथा पोखरा एभेन्जर्स र फार वेस्ट भिड्नेछन्। शीर्ष स्थानको लुम्बिनी र जनकपुर क्वालिफायरमा पुगिसकेका छन्। अब काठमाडौं, विराटनगर र पोखरा मध्ये दुई टिम एलिमिनेटरमा पुग्नेछन्। तीनै टिमलाई जितको खाँचो छ।