भारतले श्रीलंकाविरूद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ। गएराति भएको तेस्रो तथा निर्णायक खेलमा श्रीलंकालाई ९१ रनको फराकिलो अन्तरले हराउँदै घरेलु टोली च्याम्पियन बनेको हो।
जितको लागि २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।
उसका लागि ओपनर कुशल मेन्डिस र कप्तान दासुन शानकाले समान २३-२३ रन बनाए। धनन्जय डि सिल्भाले २२ र चरिथ असलंका १९ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
श्रीलंकालाई ओपनर पाथुम निसंकाले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
श्रीलंकालाई कम स्कोरमा रोक्न अर्शदीप सिंहले तीन, हार्दिक पान्डेया, उमरान मलिक र युजवेन्द्र चाहलले दुई - दुई विकेट लिए।
यसअघि राजकोटमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २ सय २८ रनको बिशाल योगफल बनाएको थियो।
भारतका लागि सूर्यकुमार यादवले सतकीय इनिङ्स खेले। ५१ बलमा ९ छक्का र ७ चौकासहित ११२ रन बनाएका सूर्यकुमार अन्तिम बलसम्म नटआउट रहे। टी - २० आईमा करियरमा तेस्रो शतक बनाउने क्रममा उनले गएराति ४५ बलमै शतक बनाएका थिए।
यस्तै शुभमन गिलले ४६ रन बनाउँदा राहुल त्रिपाठी ३५ रनमा मैदान बाहिरिए। तेस्रो विकेटका लागि शुभम गिल र सूर्यकुमारले १ सय ११ रनको साझेदारी गरेका थिए।
ओपनर इशान किसन एक रनमा आउट हुँदा हार्दिक पाण्ड्या र दिपक हुडाले समान ४-४ रन बनाए। अक्षर पटेलले ९ बलमा ४ चौकासहित २१ रन बनाए।
श्रीलंकाका लागि दिल्सान मदुसानाकाले दुई विकेट लिए। यस्तै कुसन रजिथा,चामिका करूणारत्ने र हसरंगा डे शिल्भाले समान १-१ विकेट लिए।
यो सँगै तीन खेलको सिरिज भारतले आफ्नो पक्षमा पारेको हो।
पहिलो खेलमा श्रीलंकालाई २ रनले हराएको भारत दोस्रो खेलमा १६ रनले पराजित भएको थियो।
अब भारत र श्रीलंकाबीच बिहीबारदेखि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरू हुनेछ।