लुम्बिनी अल स्टार्स नेपाल टी-२० लिगको फाइनलमा प्रवेश गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले ७ विकेट क्षतिमा १३७ रन मात्र जोड्यो।
जनकपुरका लागि शमिउल्लाह शिनवारीले सबैभन्दा बढी ४५ रन बनाए। १९ ओभरको सुरुवाती २ बलमा लगातार छक्का हानेका उनी तेस्रो बलमा आउट भए। उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
पवन सराफले नटआउट ३० जोडे। उनले अन्तिम ५ बलमा ९ रन चाहिए पनि २ रन मात्र जोड्न सके।
साराफुद्दिन असरफले १९ बलमा २४ रन जोडे। कप्तान ट्रेभन ६ बलमा १० रन जोडेर आउट भए। राजेश पुलामी मगरले २० बलमा १३ रन मात्र जोड्न सके।
बलिङमा लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ लुम्बिनीले २० ओभरमा ८ विकेटमा क्षतिमा १४३ रन जोड्यो।
लुम्बिनीका लागि इशान पाण्डेले सबैभन्दा बढी ३८ रन जोडे। उनले ३९ बलमा ३ चौका र १ छक्का हिर्काए।
स्याड्ली भन स्कावेकले ८ बलमा १७ रन, विपुल शर्माले १३ बलमा २० रन र अनिल साहले २६ बलमा २४ रन बटुले।
बलिङमा जनकपुरका असन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २-२ विकेट लिए।
अब सोमबार एलिमिनेटरमा काठमाडौं नाइट्स र विराटनगर सुपरकिंग्सबीच खेल हुनेछ। विजेताले आज पराजित जनकपुरसँग मंगलबार दोस्रो क्वालिफायरमा भिड्नेछ।