नेपाल टी-२० लिगको दोस्रो क्वालिफायरमा विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमबार भएको एलिमिनेटरमा काठमाडौं नाइट्सलाई ९९ रनले पराजित गर्दै विराटनगरले क्वालिफायरमा स्थान बनाएको हो।
विराटनगर र जनकपुरबीच मंगलबार हुने दोस्रो क्वालिफायर खेलको विजेताले बुधबार फाइनलमा लुम्बिनी अल स्टार्ससँग भिड्नेछ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले दिएको १८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमै अलआउट भयो।
काठमाडौंका लागि अभिनास बोहराले सबैभन्दा बढी नटआउट १६ रन जोडे। उनले ४ बलमा १ चौका र २ छक्का हिर्काए।
यस्तै लोकेश बमले १३ रन, कप्तान ज्ञानेन्द्र मल्लले १५ रन र कमलसिंह ऐरीले १० रन जोडे। काठमाडौंका अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
काठमाडौंको इनिङ ध्वस्त पार्ने क्रममा जनकपुरका सूर्य तामाङले ४ विकेट लिए। उनले २.४ ओभरमा १४ रन खर्चिए। किइन जोसेफ र सहाब अलामले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १८२ रन जोड्यो। विराटनगरका लागि कप्तान रोहित पौडेलले ४९ बलमा ६१ रन जोडे। उनले ६ चौका र २ छक्का हिर्काए। हुसेन तलातले २३ बलमा १ चौका र ३ छक्काको मद्दत ३८ रन बनाए।
यस्तै विवेक यादवले १८ बलमा ३ चौका र ३ छक्का हिर्काउँदै नटआट ४६ रन जोडे भने राज नन्दनले १७ बलमा २३ रन बटुले।
बलिङमा काठमाडौंका कमलसिंह ऐरी र अनिल खरेल २-२ विकेट लिए।