विवाद र फिक्सिङको शंकाका बीच पहिलो सिजनको नेपाल-२० लिग बुधबार सकिएको छ। बुधबार भएको उपाधि भिडन्तमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपरकिंग्सलाई हराउँदै उपाधि जित्यो।
विजेता लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता विराटनगरले ३० लाख रुपैयाँ, जनकपुर रोयल्सले १० लाख र काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछन्।
यस्तै प्लेयर अफ दि सिरिजलाई ५ लाख तथा उत्कृष्ट बलर र ब्याटरलाई जनही २ लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ४० हजार र इमर्जिङ प्लेयरलाई १ लाख ८० हजार रूपैयाँ दिइनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजनाको जिम्मा दिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहुवालिया सुरक्षाको कारण देखाउँदै लिग चल्दै गर्दा भारत पुगेका थिए। पुरस्कार रकम सेभेन थ्री स्पोर्ट्सले दिने भएकाले खेलाडीले कहिले प्राप्त गर्नछन् भन्ने यकिन छैन।
च्याम्पियन : लुम्बिनी अल स्टार्स
उपविजेता : विराटनगर सुपरकिंग्स
प्लेयर अफ दि म्याच : हरमित सिंह (लुम्बिनी)
प्लेयर अफ दि सिरिज : हुसेन तलात (विराटनगर) ३६७ रन र १० विकेट
उत्कृष्ट ब्याट्सम्यान : हश्मतुल्लाह शाहिदी (फार वेस्ट) ४०० रन, चार अर्धशतक
उत्कृष्ट बलर : अभिनास बोहरा (काठमाडौं) १९ विकेट
इर्जिङ प्लेयर : सूर्य तामाङ (विराटनगर) १२ विकेट