२०७७ मंसिरमा चितवनमा भएको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा नेपाल टी-२० लिग आयोजनाको प्रस्ताव पेश गरियो।
टी-२० लिग क्यान आफैंले आयोजना नगरी भारतीय कम्पनीलाई १० वर्षको ठेक्कामा दिने प्रस्ताव गरिएको थियो।
बोर्ड बैठकमा पेश गरेको एघार महिना अघि (२०७६ पुस २४) नै क्यान र भारतको सेभेन-थ्री स्पोर्ट्स प्रालिबीच १० वर्षका लागि ४२ करोड रूपैयाँ लिएर नेपाल टी-२० लिग आयोजना गर्न प्रारम्भिक सम्झौतापत्र (एमओयू) हस्ताक्षर भएको थियो।
भारतीय कम्पनीलाई बिनाटेन्डर नेपाल टी-२० लिग आयोजना गर्न दिने क्यानको प्रस्तावको सुरूमै आलोचना भएको थियो।
आलोचाना भएपछि अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय स्तरको लिग आयोजना गर्ने बताउँदै भारतीय कम्पनीलाई दिनुको तीन वटा कारण सेतोपाटीलाई बताएका थिए। (पढ्नुहोस् दुई वर्षअघिको समाचार :- टी-२० लिग गर्न सक्ने हैसियत नभएको क्यान!)
'एउटा, लिगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेका छौं। दोस्रो, हामी आयोजना अनुमति दिएर आम्दानी गर्न चाहन्छौं। अनि तेस्रो, आयोजकबाट पूर्वाधारको पनि विकास गर्न चाहान्छौं,' चन्दले भनेका थिए।
दुई वर्षको बीचमा विभिन्न विवाद पार गर्दै बुधबार सकिएको लिगमा चन्दले भनेका तीन वटै कुरा पूरा हुन सकेनन्। बरू लिग विवादित मात्र बनेन फिक्सिङ भएको गम्भीर आरोप लाग्यो।
(पढ्नुहोस् गत भदौमा छापिएको क्यान र सेभेन थ्रीबीचको सम्झौता र त्यसले निम्त्याएको विवाद :- रद्द भएको मूल सम्झौता संशोधन गरेर विवादित नेपाल टी-२० लिग अघि बढाउँदै क्यान)
केही अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउनुबाहेक लिगले कुनै अन्तर्राष्ट्रियस्तरको छनक दिन सकेन। न अक्सनको रौनक, न मैदानमा दर्शन, न खेलाडीमा उत्साह। लिग निकै फिक्का रह्यो।
क्यानले भारतीय कम्पनीबाट पहिलो सिजन पाउनु पर्ने ३ करोड ९० लाख रूपैयाँमध्ये पूरा रकम अझै पाउन सकेको छैन। सेभेन थ्रीका प्रमुख जतिन अहुवालियाले सर्वोच्च अदालतमा नेपाल टी-२० लिगको विषयमा परेको मुद्दा किनारा नलागेसम्म क्यानलाई पूरा रकम नदिने बताइसकेका छन्। यस्तै पूर्वाधारको विकास गर्ने भने पनि कीर्तिपुरस्थित त्रिवि मैदान झनै जिर्ण बन्दै गइरहेको अवस्था छ।
लिग सुरू हुनुअघि क्यानमाथि गम्भीर आरोप लागेका थिए। बेटिङ पृष्ठभूमीको कम्पनीलाई लिग आयोजना गर्न दिँदा नेपालमा अवैध बेटिङ र सम्भावित फिक्सिङका बारेमा पटक-पटक प्रश्न उठेका थिए। तर क्यान नेतृत्वले प्रश्नको उचित जवाफ दिन आवश्यक ठानेन। लिग रोक्नका लागि अवरोध भइरहेको भएको भन्दै नेतृत्वबाट सार्वजनिकरूपमै आक्रोश व्यक्त भयो।
लिग सुरू हुनअघि विदेशी खेलाडीले श्रम स्वीकृती लिनु पर्ने विषयमा क्यान जानकार थियो। त्यसैले क्यानले सिफारिसका लागि राष्ट्रिय खेलकुद परिषद्मा पत्राचार समेत गर्यो। तर खेलकुद परिषद्ले लिगका आवश्यक कागजपत्र मगाएर हेरेपछि मात्र सिफारिस गर्ने बतायो। तर क्यानले कागजपत्र समयमै पठाउन सकेन। लाखौं पारिश्रमिकमा अनुबन्धन भएका विदेशी खेलाडी विनाश्रमस्वीकृती मैदानमा उत्रिए। नेपाली प्रशासनले आँखा चिम्लियो।
लिग चलिरहदा खेलाडीले पारिश्रमिक नपाएका खबर आए। पारिश्रमिक नपाएपछि जिम्बावेका सिकन्दर राजा फर्किएको समाचार सार्वजनिक भएपछि अरू टिमको समस्या पनि बाहिर आउन थाल्यो। टिमको मालिक ‘डमी’ को रूपमा खडा गरिएको आरोपलाई पुष्टि गर्ने गरी व्यवस्थापकहरू खेलाडीको सम्पर्क बाहिर गए। जसका कारण खेलाडीहरूले टिमबाट समयमै पारिश्रमिक पाउन सकेनन्। लिग सकिदा समेत कतिपय खेलाडीले अझै पारिश्रमिक पाएका छैनन्।
पारिश्रमिक नपाएकै कारण विराटनगर सुपरकिंग्स र काठमाडौं नाइट्सका खेलाडीले विरोध जनाउदा खेललाई समेत असर गरेको थियो। त्यतिबेलासम्म आयोजकको जिम्मा पाएको सेभेन थ्री स्पोर्ट्सका जतिन अहुवालिया भारत पुगिसकेका थिए। उनले भारत पुगेर आफूमाथि धम्की आएको र सर्वोच्चको मुद्दा किनारा नलागेसम्म क्यानलाई पूरा रकन नदिने धारणा सार्वजनिक गरे।
लिगमा कमेन्टेटरको भूमिकामा रहेका सचिन तिमिल्सेनाले लिग ‘फिक्सर’ को हातमा गएको भन्दै आफू अलग भएको घोषणा गरे। जसका कारण लिगको आयोजकमाथि नै अनेकौ शंका तेर्सिए।
लिगका विभिन्न खेलमा ‘स्पट फिक्सिङ’ भएको सचिनले बताएका थिए। त्यसपछि गृह मन्त्रालयले चासो देखाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। सिआइबीले लिगमा स्पट फिक्सिङ भएको, फिक्सिङमा आयोजनाको जिम्मा पाएको सेभेन थ्री पनि संग्लन भएको र नेपाली खेलाडीलाई समेत प्रयोग गरिएको प्रारम्भिक निष्कर्श निकालिसकेको छ।
लिग चलिरहदा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधि समेत नेपाल आइपुगेका थिए। आइसिसीका प्रतिनिधिले लिगको एन्टी करप्सन युनिटदेखि राष्ट्रिय खेलकुद परिषद् र सिआइबीका प्रतिनिधिसँग भेट गरेको थियो। आइसिसी प्रतिनिधिले दिने प्रतिवेदन सिआइबीले कुरिरहेको अवस्था छ।
प्लेअफमा विराटनगर सुपरकिंग्स र काठमाडौं नाइट्सबीचको खेलको दृष्यले लिगको व्यवस्थापनलाई जिक्कायो। काठमाडौंको बेन्चका कुनै पनि खेलाडी थिएनन्। उपलब्ध भएका ११ जना खेलाडी मैदान उत्रिए। पारिश्रमिक नपाएपछि चार जना विदेशी खेलाडी फर्किएका कारण उपलब्ध ११ जना नेपाली खेलाडी मैदान उत्रिएका थिए। जसका कारण काठमाडौंको ‘डग आउट’ (सब्सिच्युट खेलाडी बस्ने स्थान) खाली थियो। मैदानमा बलिङ र फिल्डिङ गरिरहेका खेलाडीलाई पानी दिने समेत मान्छे भएनन्। जसका कारण काठमाडौंका खेलाडीलाई विपक्षी टिमका खेलाडीले पानी दिएका थिए।
काठमाडौंका व्यवस्थापक तथा टिम मालिक सेभेन थ्री स्पोर्ट्सका जतिनका मान्छे भएको स्रोतको दाबी छ। उनीहरूमाथि पनि फिक्सिङको आशंका भएपछि दुवै जना लिग चलिरहदा भारत फर्किएका थिए।
लिगको उद्घाटनका लागि तत्कालिन मन्त्री महेश्वरजंग गहतराज पुगेका थिए। तर बुधबारको समापनमा क्यानका पदाधिकारी मात्र मैदानमा थिए। कसैलाई पनि प्रमुख अथिति बोलाइएको थिएन। खेलकुद प्रतियोगिताको समापनमा अथिति बोलाउनु वा नोलबाउने आयोजकको कुरा होला। तर यसअघि तामझाम गर्ने क्यान आफैमा विवादमा परेपछि प्रमुख अथितिले समापना नहुँदा यसले अर्थ राखेको छ।
लिग विवादित भनेपछि क्यानमाथि अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी पाँच वटा निकायले छानविन गरिरहेका छन्।
लिगको विषयमा अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। एभरेस्ट प्रिमियर लिग (इपिएल) का प्रमुख अमिर अख्तरले विनाटेन्डर भारतीय कम्पनीलाई नेपाल टी-२० लिग आयोजना गर्न दिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
यस्तै लिग कानुनविपरित भारतीय कम्पनीलाई आयोजना गर्न दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी छ। गत वैशाखमा उजुरी परेपछि अख्तियारले छानविन गरिरहेको छ। लिग चलिरहदा अख्तियारमा बिना श्रमस्विकृती विदेशी खेलाडी खेलाएको र फिक्सिङ गराएको भन्दै अर्को उजुरी परेको थियो।
लिग विवादित बनेपछि राष्ट्रिय खेलकुद परिषद्ले छानविन गर्नका लागि कार्यदल गठन गरेको छ। पुस २० मा गठन भएको कार्यदललाई सत्यतथ्य छानविन गरी १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउन भनिएको छ।
यस्तै गृह मन्त्रालयको निर्देशनमा लिगमा फिक्सिङ भएको विषयमा सिआइबीले अनुसन्धान गरिएको छ।
लिगकै कारण क्यान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को पनि उच्च निगरानीमा छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको शंकाको घेरामा क्यान परिरहदा नेपाली क्रिकेटको वर्तमान अवस्थाको यथार्थ चित्र देखिएको छ।
चारतिरबाट विरोध हुँदा पनि भारतीय त्यो पनि बेटिङ पृष्ठभूमीको कम्पनीलाई लिग आयोजना गर्न दिनुको औचित्य क्यानले पुष्टि गर्न सकेको छैन। उसले भारत गएर क्यानलाई रकम दिन्न भनिरहदा क्यान निरिह बनेर बस्न परेको अवस्था छ।
आयोजनाको सबै जिम्मा सेभेन थ्रीको भएको र भाग लिएका ६ टिम सेभेन थ्री अन्तर्गत हुने भएकाले खेलाडीले पारिश्रमिक नपाउँदा समेत क्यान केही गर्न नसक्ने अवस्थामा छ। च्याम्पियन टिम लुम्बिनी अल स्टार्सले पाउने ५५ लाख रूपैयाँसहित अरू टिम र उत्कृष्ट खेलाडीले पाउने पुरस्कार सेभेन थ्री नै दिने भएकाले त्यो पुरस्कार उनीहरूले कहिले पाउछन् भनेर क्यान जवाफ दिन सक्ने अवस्थामा छैन।
सबैपक्षमा निरिह हुनु पर्ने अवस्थामा क्यान नेतृत्व कसरी आइपुग्यो? कतै क्यान नेतृत्वले पनि भारतीय कम्पनीबाट लाभ लिइरहेका छैन? नेपाली क्रिकेट साँच्चै फिक्सरकै हातमा सुम्पिएकै हो? यस्तै गम्भीर प्रश्न उब्जाएर नेपाल टी-२० लिग सकिएको छ।