अष्ट्रेलियाले अफगानिस्तानसँग क्रिकेट शृंखला नखेल्ने निर्णय गरेसँगै अफगानिस्तानका राशिद खानले आफूले पनि बिग ब्यासमा भाग लिनेबारे पुनर्विचार गर्ने बताएका छन्।
क्रिकेट अष्ट्रेलियाले आगामी मार्चमा युएईमा हुने तय भएको अफगानिस्तानविरूद्धको सिरिज नखेल्ने निर्णय गरेसँगै खानले यस्तो बताएका हुन्।
तालिवान सरकारले महिलाका अधिकार कटौती गरेको विरोधमा अफगानिस्तानसँगको खेल रद्द गर्नुपरेको क्रिकेट अष्ट्रेलियाले स्पष्ट पारेको थियो।
उनले ट्वीटरमा लेखेका छन्, “क्रिकेट हाम्रो देशको एउटै आशा हो, यसलाई राजनीतिबाट टाढा राख्नुहोस्।” सोही पोस्टको साथमा एक विज्ञप्तिमा उनले लेखेका छन्, “अष्ट्रेलियाले हामीसँग सिरिज खेल्न अस्वीकार गरेको सुन्दा धेरै दु:ख लाग्यो। म आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु। हामीले विश्व रंगमञ्चमा लामो यात्रा तय गरेका छौं। क्रिकेट अष्ट्रेलियाको यो निर्णय यस बाटोमा बाधा हो। यदि अस्ट्रेलियालाई हामीसँग खेल्न यति धेरै कठिनाइ छ भने, म बिग ब्यास लिगमा भाग लिएर उनीहरूका लागि थप समस्या सिर्जना गर्न चाहन्न।”
उनले भविष्यमा बिग ब्यास लिगमा भाग लिने बारे ‘गम्भीर निर्णय’ दिने बताए। यसअघि विहीबार क्रिकेट अष्ट्रेलियाले विज्ञप्ती निकालेर आउँदो मार्चमा यूएईमा हुने तय भएको अफगानिस्तानको खेल नखेल्ने बताएको थियो ।
अष्ट्रेलियाको घरेलु लिग बिगब्यासमा एडिलेड स्ट्राइकर्सबाट खेल्दै आएका खानले बिहिबार ट्विटरमार्फत अष्ट्रेलियाले मार्चमा अफगानिस्तानसँग खेल्नको लागि सिरिजबाट बाहिरिएको सुनेर निराश भएको बताएका छन्।
‘अष्ट्रेलियाले मार्चमा हामीसँग खेल्नको लागि सिरिजबाट बाहिरिएको कुरा सुनेर म साँच्चै निराश छु,’ राशिदले भने, ‘म आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा ठूलो गर्व गर्छु र हामीले विश्वस्तरमा ठूलो प्रगति गरेका छौं। क्रिकेट अष्ट्रेलियाको यो निर्णयले हामीलाई त्यो यात्रामा फर्काउँछ। यदि अफगानिस्तानविरूद्ध खेल्न अष्ट्रेलियालाई सहज छैन भने म पनि बिगब्यास लिगबारे दृढतापूर्वक विचार गर्नेछु।’
समाचार एजेन्सी पीटीआईका अनुसार अष्ट्रेलिया र अफगानिस्तानले युएईमा आईसीसी सुपर लिग अन्तर्गत मार्चमा तीन एकदिवसीय सिरिज खेल्ने तय थियो। तर क्रिकेट अस्ट्रेलियाले यो सिरिजमा सहभागी नहुने निर्णय गरेको छ।
‘शिक्षा, रोजगारी, उनीहरूको पार्क र जिम सम्बन्धी अधिकारमा तालिबानले महिला र केटीहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि हामीले यो निर्णय गरेका छौं,’ क्रिकेट अष्ट्रेलियाले विज्ञप्ति निकाल्दै अफगानिस्तानविरूद्ध खेल्न अस्वीकार गरेको हो।
‘अष्ट्रेलिया क्रिकेट बोर्ड अफगानिस्तान लगायत विश्वभर महिला र पुरुषको खेललाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ र आफ्नो देशमा महिला र केटीहरूको अवस्था सुधार्ने आशामा अफगानिस्तान क्रिकेट बोर्डसँग संलग्न रहनेछ’, वोर्डले स्पष्ट पारेको छ।
अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ताको लगाम हातमा लिँदा, तालिबानले महिला अधिकारको बारेमा कडा नहुने बताएको थियो, यद्यपि त्यसयता उनीहरूले धेरै प्रतिबन्धहरू लगाएका छन्।
अफगानिस्तान र अष्ट्रेलियाले आगामी तीन वर्षमा दुई वटा सिरिज खेल्नुपर्नेछ। अगस्ट २०२४ मा तीन खेलको टी-२० शृंखला र अगस्ट २०२६ मा एक टेस्ट र तीन टी-२० खेलहरू प्रस्ताव गरिएको छ।