इटहरीमा सुरु भएको प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एक र सुदूरपश्चिमले विजयी सुरुवात गरेका छन्।
प्रदेश एकले दिनको पहिलो खेलमा मधेश प्रदेशमाथि ९ विकेटको जित निकाल्यो। पहिले ब्याटिङ गरेको मधेश १९.२ ओभरमा ४९ रनम अलआउट भयो।
उसका लागि सरस्वती चौधरीले सर्वाधिक १२ रन जोड्दा बलिङमा प्रदेश एककी सबनम राईले ४ विकेट लिइन्। राईले ४ ओभरमा ३ मेडन राख्दा १ रन मात्र दिइन्।
५० रनको लक्ष्य प्रदेश एकले ११.४ ओभरमा १ विकेट गुमाएर पार गर्यो। उसका लागि काजल श्रेष्ठले २४ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले २० रन जोडिन्।
अर्को खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३३ रनले हरायो। पहिले ब्याटिङ गरेको सुदूरले ५ विकेटको क्षतिमा १२७ रन जोड्यो। जवाफी ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा ९४ रन मात्र जोड्न सक्यो।
खेलमा सुदूरकी कवित कुँवरले ५० रन जोडेकी थिइन्।