इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन्।
समूह ‘ए’ बाट दुवै टिम दुई दुई जितका साथ अन्तिम खेलअघि नै अन्तिम चारमा पुगेका हुन्।
सोमबार भएको खेलमा सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। सुदूरको जितसँगै एपिएफ पनि अन्तिम चारमा पुग्यो।
पहिले ब्याटिङ गरेको गण्डकी ९ विकेटको क्षतिमा ६० रन मात्र जोड्यो। उसका लागि सीमना केसीले १३ रन जोड्दा बलिङमा सुदूरकी मनिसा चौधरीले ४ विकेट लिइन्।
६१ रनको लक्ष्य सुदूरले एक विकेटको क्षतिमा ११ ओभरमा पुरा गर्यो। सुदूरको जितमा कप्तान विन्दू रावलले नटआउट ४६ रन जोडिन्।
यता समूह ‘बी’ को खेलमा प्रदेश एकले लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ।