इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
समूह ‘बी’ बाट मधेश प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
मधेशले बुधबार भएको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले हरायो।
पहिले ब्याटिङ गरेको मधेशले ५ विकेटको क्षतिमा १०७ रन जोड्यो। उसका लागि सना प्रवीनले ४६ रन जोडिन्।
१०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५ विकेटको क्षतिमा ९१ रन मात्र जोड्न सक्यो। लुम्बिनीका लागि रन्जु श्रेष्ठले नटआउट २१ रन जोड्दा बलिङमा भूमी सिंहले २ रन जोडिन्।
यससँगै मधेश समूहमा उपविजेता बन्यो। यो समूहबाट प्रदेश एक विजेता बनेर अन्तिम चारमा पुगिसकेको छ।
समूह ‘ए’ बाट सुदूरपश्चिम विजेता र एपिएफ उपविजेता बनेर अन्तिम चारमा पुगेका थिए।
अब सेमिफाइनलमा एपिएफ र प्रदेश एक तथा सुदूरपश्चिम र मधेशबीच खेल हुनेछ। सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ।