नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेको छनोट समितिले राष्ट्रिय पुरुष टिमको मुख्य प्रशिक्षकका लागि ५ जनासँग अन्तर्वार्ता लिएको छ।
समितिले मुख्य प्रशिक्षक बन्नका लागि आवेदन दिएका २४ मध्ये पाँच जनाको बुधबार अन्तर्वार्ता लिएको हो। अब क्यानले सम्भावित प्रशिक्षकसँगको अन्तिम चरणको बैठकपछि मुख्य प्रशिक्षकको नाम टुंगो लगाउनेछ।
क्यान स्रोतका अनुसार पाँच जनामा नेपालका पूर्वप्रशिक्षक डेभ ह्वाटमोर, पूर्वबलिङ प्रशिक्षक धम्मीका प्रसादसहित भारतका मोन्टी देशाईसँग अन्तर्वार्ता लिइएको छ।
यस्तै बाँकी दुई जनामा दक्षिण अफ्रिकाका रसेल डोमिङ्गो र न्युजिल्यान्डका ग्लेन पोकनल रहेका छन्। डोमिङ्गो बंगलादेशका पूर्वप्रशिक्षक हुन् भने पोकनल न्युजिल्यान्डका टी-२० पूर्वप्रशिक्षक हुन्।
नियुक्त हुने प्रशिक्षकले मासिक १५ हजार अमेरिकी डलरभन्दा बढी पारिश्रमिक पाउनेछन्।
गत मंसिर अन्तिम साता भारतका मनोज प्रभाकरलाई क्यानले नेपालको प्रमुख प्रशिक्षकबाट हटाएको थियो।
त्यसअघि पुबुदु दासानायके नेपालको प्रशिक्षक थिए। ६ महिना नेपालको प्रशिक्षक बनेका दासानायकेले प्रशिक्षक छाडेलगत्तै नेपाली टिममा गुटबन्दी रहेको भन्दै क्रिक इन्फोसँग अन्तर्वार्ता दिएका थिए।
पुबुदुअघि नेपालको प्रशिक्षक डेभ ह्वाटरमोर थिए। ह्वाटमोर पनि पदावधि नसकिँदै नेपालबाट बाहिरिएका थिए।
ह्वाटमोरअघि नेपालको प्रशिक्षक भारतका उमेश पटवाल थिए। क्यान निलम्बनको अवस्थामा प्रशिक्षक नियुक्त भएका पटवालले २०७६ माघमा राजीनामा दिएका थिए। उनले तलबमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए।
तीन वर्षको अवधिमा पटवालसहित चार प्रशिक्षकले राजीनामा दिइसकेका छन्।
ह्वाटमोर नेपालको प्रशिक्षक छाडेर भारतको राज्यस्तरीय टिमको प्रशिक्षक बनेका थिए भने पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त भएका थिए।