आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु-१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ।
एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउनेछ।
क्यानले घोषणा गरेको टोलीमा सिनियर टोलीबाट खेलिसकेका देव खनाल, गुलशन झा लगायत छन्।
अन्तिम १४ सदस्य टोली घोषणा गरे पनि क्यानले कप्तान भने टुंगो लगाएको छैन।
टिममा देव खनाल र गुलशन झाबाहेक दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर ,दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्।
वैकल्पिक खेलाडीहरूमाा प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन्।