सचिन तिमल्सेना नेपाल टी-२० लिगको कमेन्ट्री गरिरहेका थिए। प्रतियोगिताको ११ औं दिनमा उनले उक्त लिगमा फिक्सिङ भएको भिडिओमार्फत् दाबी गरे।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले लिग फिक्सिङमा संलग्न रहेको भन्दै क्रिकेटर आदिल अन्सारी र पूर्व क्रिकेटर मोहबुब अलामलाई पक्राउ पनि गरेको छ।
१० औं दिनसम्म लिगको कमेन्टेटर रहेका उनले ११ औं दिनमा आएरमात्रै फिक्सिङबारे किन बोले? उनले फिक्सिङको आशंका कसरी गरे? लगायतका विषयमा तिमल्सेनासँग सेतोपाटीका लागि सीताराम कोइरालाले कुराकानी गरेका छन्।
नेपाल टी-२० लिग सुरू हुन दुई/तीन दिन अघिसम्म अम्पायर तथा ग्राउन्ड स्टाफहरूलाई लिगबारे केही खबर थिएन। कमेन्टेटरहरूलाई पनि पक्कै जानकारी थिएन होला। तपाईं कसरी आबद्ध हुनुभयो?
यो लिगलाई आइपिएलको नेपाली प्रारूप भनेर हल्ला चलेको थियो। मलाई कमेन्ट्रीमा रूची थियो। नेपालमा अंग्रेजीमा कमेन्ट्री गर्नेहरूको संख्या कमै छ। त्यसैले मलाई कमेन्ट्रीका लागि प्रस्ताव आएपछि मैले स्वीकार गरेँ। जसरी अन्य खेलहरूमा म कमेन्ट्री गर्थें, त्यसैगरी यो प्रतियोगितामा पनि संलग्न भएँ।
तपाईंसँग पारिश्रमिकबारे के-कस्तो सम्झौता भएको थियो?
दिनको एउटा रकम तोकिएको थियो। त्यस रकममा पनि पछि आपसी समझदारी भयो। विदेशीहरूलाई डलरमा तोकिएको थियो। हामीलाई धेरै पैसा तोकिएको थिएन। त्यति धेरै रकम थिएन।
लिग सुरू हुनुभन्दा अघि नै अनेकौं हल्ला चलेका थिए। तपाईं विवादकाबीच पनि किन आबद्ध हुनुभयो?
मेरो सोझो बुझाइ के थियो भने क्रिकेट एसोसिएन नै संलग्न भएपछि बाँकी कुराहरू चल्छ होला जस्तो लागेको थियो। योभन्दा अघिका सिरिजहरू पनि सरोगेसी कम्पनीहरूले प्रायोजन गरेका थिए। यो पालि पनि क्यानले नै आयोजना गरेपछि क्रिकेट स्वच्छ रहन्छ भन्ने मलाई लागेको थियो। यो पटक मैले क्यानलाई शंकाको सुविधा दिएको हो।
तपाईंले लिगको १० औं दिनसम्म कमेन्ट्री गर्नुभयो। १० दिनसम्मको अनुभव कस्तो रह्यो?
कमेन्ट्रीको हिसाबले भारतीय बोर्डकास्टिङ एजेन्सी संलग्न भएको हुँदा काम गर्न मज्जा आएको थियो। क्रिकेटको गुणस्तरमा भने पहिलो दिन केही अनुभव भएन तर दोस्रो दिनदेखि पाँचौं दिनसम्म आइपुग्दा केही कुरा असाधारण खालका थिए। जस्तो कि नो बलको संख्यादेखि ब्याट्सम्यानहरूको खेल्ने शैलीले फिक्सरको शंका उत्पन्न भयो।
तपाईं १० औं दिनसम्म चुप बस्नुभयो। ११ औं दिनमा आएर तपाईंले फिक्सिङबारे बोल्नुभयो। तपाईंले के-के आधार देखेर बोल्नुभयो?
स्पट फिक्सिङलाई प्रमाणित गर्नका लागि धेरै आधार चाहिन्छ। कहिलेकाहीँ के हुन्छ भने कसैले महसुस गरेको फिक्सिङ वा फिक्सिङप्रतिको अवधारणालाई संयोगसँग पनि जोडिन्छ। मलाई ठोस प्रमाण चाहिएको थियो प्रमाणित गर्नका निम्ति। मलाई प्रमाण संकलनका लागि समय लागेको हो। जब म फिक्सिङबारे निश्चिन्त भएँ मैले भिडिओ बनाएर त्यो लिग छाडेँ।
फिक्सिङको आशंका लागेपछि पहिलो जानकारी एन्टी करप्सन युनिटलाई गराउनुपर्छ। तपाईंले त्यो युनिटलाई के-के जानकारी गराउनुभयो?
मैले दुईपटक जानकारी गराएँ। एउटा टिमको क्याप्टेनले २ छक्का खाएपछि तेस्रो बलसम्म लुप भएपछि मैले सिधै सम्बन्धित प्लेयरमाथि शंका लाग्यो तपाईं हेर्नुस् है भनेर युनिटलाई जानकारी गराएँ। उहाँले त्यो कुरा नोट गर्नुभयो र आज पक्राउ परेका बलरको नो बलको साइजबारे वीर सिंहलाई एउटा प्रोफेसनल खेलाडीले यस्तो नो बल फाल्दैन भनेँ। दुईपटक मैले मौखिक गुनासो राखेँ। त्यसपछि क्यानका दुई जना पदाधिकारीलाई मैले जानकारी गराएँ यसमा गडबड छ भनेँ। उहाँहरूले झारा टार्ने जवाफ दिनुभयो। यस्ता विषय नरोक्ने हो भने म भण्डाफोर गर्छु भनेँ र अर्को दिन मैले भिडिओ बनाएँ। नेपाली क्रिकेटप्रति सधैं श्रद्धा भएको कारणले यो पालि पनि कोही नबोले अर्कोपटक त फिक्सिङ सामान्य हुन्छ भन्ठानेर मैले भण्डाफोर गर्ने साहस गरेँ।
लिगलाई बदनाम गराउन तपाईंलाई प्रयोग गरियो भन्ने आरोप पनि छ नि!
नेपालको घरेलु तथा अन्तर्राष्ट्रिय लिगमा मैले कमेन्ट्री गरिरहेको थिएँ। मलाई बोल्नका निम्ति केही प्रमाण चाहिन्थ्यो त्यसैले मैले १० दिनसम्म प्रमाण संकलन गरेँ। यो भिडिओ तयार गर्छुभन्दा मलाई धेरै साथीहरूले यो प्रमाणित हुने कुरा होइन नबनाऊ भन्थे। यसको बाबजुद पनि कसैले बोल्नुपर्यो भनेर बोलेको हो। मलाई नेपाली क्रिकेटको माया थियो म बोलेँ। विदेशी कमेन्टेटरहरूलाई नेपाली क्रिकेटसँग लिनु-दिनु केही थिएन उनीहरू बोलेनन्।
मैले दाबी गरेका कुरा त प्रमाणित भए नि। मैले देखेर नै बोलेको हो भन्ने कुरा त आज प्रमाणित भयो। म किन क्यानलाई बदनाम गराउँछु र! क्यानको प्रतियोगिताको उद्घाघटन समारोहमा म संलग्न छु। क्यान निश्चिन्त भइकन स्पट फिक्सिङ भएको छैन भनेर विज्ञप्ति निकाल्नुभयो। यसमा त उहाँहरूको नै त्रुटी छ। म उहाँहरूलाई बदनाम गर्न किन लाग्नु! जे आरोप ममाथि लगाइएको थियो, त्यो आरोप सिआइबीको कामबाट खण्डित भयो।
यो विषयमा क्यानलाई केही भन्न मन छ?
यो विषयमा क्यान जिम्मेवार हुनुपर्थ्यो। तर त्यस संस्थाबाट नै निकै ठूलो त्रुटी भएको छ। सेभन थ्री स्पोर्ट्सको सट्टेबाज पृष्ठभूमि बुझ्दाबुझ्दै पनि खेलाडीले पैसा पाउँछन् भन्ने बहानामा नेपाली क्रिकेटलाई भ्रष्ट बनाउने खेलमा क्यान दोषी छ। बोर्डको काम भनेको प्रतियोगितामात्रै आयोजना गर्नु होइन। म्याच फिक्सिङमा पर्दा करियर नै ध्वस्त हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि क्यान अपरिपक्व ढंगले अघि बढ्यो। जति पनि दुर्घटना अहिले भएको छ, यसको सम्पूर्ण जिम्मेवारी क्यानले लिनुपर्छ।
यसले नेपाली क्रिकेटलाई कस्तो असर पर्छ?
तात्कालीन हिसाबले यो प्रकरणले अहिले केही कम्पन ल्याए पनि भविष्यमा यसले केही सकरात्मक प्रभाव पनि पार्छ। जस्तै हाम्रा खेलाडीहरूलाई यो प्रकरण ठूलो चेतावनी भएको छ। मैले केही गडबड गरेमा कुन परिणाम आउँछ भन्ने उदाहरण सेट भएको छ। क्यान पनि सुध्रिने हो भने सम्झौताहरूमा उहाँहरू पनि सजग हुनुहुनेछ। र नेपाली क्रिकेटलाई स्वच्छ राख्न पनि यो घटना एउटा शिक्षा हुनसक्छ भन्ने मलाई लाग्छ।