नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगमा गल्ती भएको स्वीकार गरेको छ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै क्यानले लिगमा प्रक्रियागत गल्ती भएको स्वीकार गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्दले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग लिगका लागि सम्झौता गर्दा गल्ती भए पनि आफ्नो नियत गलत नभएको बताए।
यसअघि गत महिना सम्पन्न नेपाल टी-२० लिगमा विदेशी खेलाडीलाई विना श्रमस्विकृती खेलाएको र फिक्सिङसहितक गैरकानुनी काम भएको सार्वजनिक भएपछि लिग विवादित बनेको थियो।
‘हामीले जानेर/नजानेर विभिन्न प्रक्रियागत त्रुटि गर्यौं। गल्ती भएको म स्वीकार गर्छु,’ अध्यक्ष चन्दले भने, ‘तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट स्वीकृती लिइसकेको र विदेशी खेलाडी आइसकेको अवस्थामा हामीले नेपाली क्रिकेटलाई दुर्घटनाबाट जोगाउन लिग आयोजना गर्न बाध्य भयौं।’
तीन वर्षअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग प्रारम्भिक सम्झौता भएकोमा क्यानले दुई वर्षअघि लिग सञ्चालनका लागि सम्झौता गरेको थियो। तर सुरुमा सम्झौता पालना नहुँदा क्यानले रद्द गर्ने निर्णय गरे पनि पछि फेरि शंसोधन गर्दै लिग आयोजना गर्ने निर्णय गरेको थियो।
यसअघि राष्ट्रिय खेलकुद परिषदले गठन गरेको कार्यदलले लिग खेलकुद विकास ऐनविपरित भएको ठहर गरेको थियो।
नेपाल टी-२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने कार्यदलको ठहर थियो। यो भनेको ऐनविपरित भारतीय कम्पनीसँग सम्झौता गरेकाले क्यान विघटन गर्ने सिफारिस हो।
कार्यदलले क्यान विघटन गर्न दिएको सिफारिसको क्यान अध्यक्षले विरोध गरे। उनले निर्वाचित कार्यसमितिको विकल्प निर्वाचित कार्यसमिति नै भएकोले विघटन विकल्प नभएको जिकिर गरे।
यस्तै कार्यदलले सेभेन थ्रीसँगको सम्झौता तत्काल खारेज गर्न सिफारिस गरेको सन्दर्भमा राष्ट्रिय खेलकुद परिषदले निर्देशन दिए सम्झौता खारेज गर्ने अध्यक्ष चन्दको भनाइ छ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि नेपाल टी-२० लिग गर्न सम्झौता गरेपछि लिग विवादित बनेको थियो।
बेटिङ पृष्ठभूमीको कम्पनीले लिगको नाममा गैरकानुनी बेटिङ र फिक्सिङ गराउन सक्ने आशंका लिगका दौरान गरिएको थियो। तर क्यान अध्यक्ष चन्दले भने सेभेन थ्रीले यसअघि पनि मिडिया सम्बन्धि काम गरेको अनुभवका आधारमा सम्झौता गरेको दाबी गरे। तर लिग चल्दै गर्दै भारत सेभेन थ्रीका प्रमुख गएपछि कम्पनीको नियतमा खोट देखिएको चन्दको संकेत थियो।
यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गर्दै लिगमा फिक्सिङ भएको ठहर गरेको थियो। फिक्सिङको अभियोगमा प्रहरीले राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारी र पूर्व अलराउन्डर मेहबुब अलामलाई पक्राउ समेत गरेको थियो।
क्यानले दोषी पाइएमा सबैलाई कारबाही गर्ने पनि बतायो। तर क्यानको संलग्नता रहेको विषयमा भने अध्यक्ष चन्दले खण्डन गरे।
उनले कुनै खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव आउनु क्यानको गल्ती नभएको जिकिर गरे। तर भारतीय कम्पनी सेभेन थ्रीका प्रमुखकै योजनामा फिक्सिङ भएको प्रहरीले सार्वजनिक गरेको छ। त्यसैले सेभेन थ्रीसँग सम्झौता गर्ने क्यान पनि स्पट फिक्सिङमा दोषी हुने कतिपयको तर्क छ।
टी-२० लिगका लागि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एड्भाइजर राइट्स (रणनैतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार) दिँदै ८ वर्षको सम्झौता गरेका थियो।
सम्झौताअनुसार सेभेन थ्रीले आठ वर्षमा क्यानलाई ३३ करोड रूपैयाँ दिने उल्लेख थियो। पहिलो सिजन क्यानले ३ करोड ९० लाख रूपैयाँ पाउने सम्झौता थियो। तर क्यानले अहिलेसम्म पूरा रकम पाएको छैन।
सेभेन थ्रीले अहिलेसम्म प्लेयर अफ दि म्याच, विजेता, उपविजेतासहित उक्कृष्ट खेलाडीको पुरस्कार पनि उपलब्ध गराएको छैन।
क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले क्यानले पाउने पर्ने रकमका लागि कानुनी लडाइँ लड्ने बताए। उनले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लडेर भए पनि पैसा असुल्ने दाबी गरे।