नेपाली क्रिकेट हेरेर नै क्रिकेट खेलबारे बुझियो। क्रिकेट हेर्दाहेर्दै नेपाली क्रिकेट प्रति मोह बढ्दै गयो, यति मोह बढ्यो कि नेपाली क्रिकेटको लत नै बस्यो।
कुनै बेला थियो नेपाली क्रिकेटको जित आफ्नो जितभन्दा पनि ठूलो लाग्थ्यो, नेपालको हारमा कैयौं पटक आँखामा आँसु आएको छ। नेपालको खेल हुँदै छ भन्दा ठूलै उत्सव आए जस्तै लाग्थ्यो।
प्रत्यक्ष प्रशारण त्यति आउदैनथ्यो। कहिलेकाहीँ आए पनि हेर्न पाउन सम्भव हुदैनथ्यो,अझै पनि याद छ उज्यालोमा एसएमएस गरेर कैयौंपटक नेपालको खेलको अपडेट हेरेको, टिभिको स्कृनमा नेपालको अपडेट हेरेको।
मैले क्रिकेट हेर्दा नेपालले आइसिसीको डिभिजन लिगका खेलहरू खेल्थ्यो। अझै पनि याद छ ती डिभिजन-५ देखिका हरेक खेलहरू, याद अझै ताजा छ डिभिजन खेलहरूमा नेपालले धेरै खेल्ने बर्मुडा, सिंगापुर, बहराइन मलेसियासँगका खेलहरु।डिभिजन लिगको उपाधि जित्दा पाउने त्यो गोलो टल्किने ट्रफी अझै याद छ।
नेपाल टी-२० विश्वकपमा छनोट हुँदै गर्दाका क्षण अझै ताजै छन्, विश्वकपको पहिलो खेलमा हङकङविरुद्ध पहिलो ओभरको पहिलो बलमै पारस खड्काले लिएको विकेट अझै ताजै छ। अफगानिस्तान विरुद्धको त्यो सनसनी पुर्ण जित अझै ताजै छ।क्ति गौचन विकेट लिएर मैदान वरिपरि कुदेको, वसन्त रेग्मीले विकेटको खडेरी तोडेको कहाँ भुल्न सकिन्छ र!
शरद भेषावकरको फिनिसिङमा कैयौं पटक नेपालले जितेको छ। सायद अहिले धेरैले नसुनेको अनिल मण्डल, अभिनास कर्ण, अमृत भट्टराईको खेलहरू ताजै छन्, त्यस्तै सुवास खकुरेलको ओपनिङ, सागर पुनको अलराउन्डर भूमिका भुवन कार्की, जितेन्द्र मुखियाको बलिङ अझै ताजै छ।
डिभिजन खेलहरूबाटमाथि उक्लिदै नेपालले ओडिआई (एकदिवसीय) मान्यता नी पायो। क्यानडासँगको खेलमा अन्तिम समयमा करण केसीले जिताएर ओडिआई मान्यताका लागि छनोट प्रतियोगितामा पुर्याएको त धेरै भएको छैन।
चितवनको क्याम्पाचौरबाट नेपाली क्रिकेट हुँदै विश्व क्रिकेटमा सन्दीप लामिछाने चम्किदै गर्दा आफ्नै सफलता जस्तै गरि खुसी भइयो। आइपिएलमा छनोट हुँदै गर्दा सिंगो नेपाल नै हर्षित भएको थियो।
तर आज म जस्तै हजारौ समर्थकको मन नेपाली क्रिकेट प्रति मर्दै गएको छ, काठमाडौं भए त टियुमा हुने हरेक खेल हेर्न जान्थे भनेर सोच्ने म अहिले टियुदेखि केही मिनेट टाढा बस्छ। तर बिडम्बना खेलप्रती रूचि मर्दै गएको छ।
मैले आफूले खेलप्रती माया मारेको हैन, नेपालको जस्तो खराब परिस्थितिमा समेत नेपाललाई साथ दिइन्थ्यो, नेपाली खेलाडीहरूलाई कसैले नराम्रो भन्दा आफैँलाई गाली गरे जस्तो लाग्थ्यो। तर आज क्रिकेट अनि क्रिकेट खेलाडीको गतिविधिहरूले गर्दा मेरो नेपाली क्रिकेटसँगको १० वर्ष भन्दा लामो प्रेम जबर्जस्त टुटाउन खोजिदै छ।
आज न त क्रिकेट खेलाडीमा एकता छ न त एकअर्काप्रती सम्मान। मैदान भित्रदेखि बाहिरसम्म नेपाली क्रिकेट गुट उपगुटमा विभाजित छ।
आज नेपालसँग ओडिआई स्टाटस छ, खेलहरू पनि पहिले भन्दा धेरै खेल्न पाइरहेको छ, खेलाडीहरूको सेवा सुविधा पनि पहिले भन्दा राम्रो छ। तर सबै भएर पनि आज नेपाली क्रिकेट भित्रभित्रै खोक्रो भएको छ, पहिले सानै उपलब्धि मा पनि रामाउने क्रिकेट समर्थक आज ठूलो सफलता हात पार्दा समेत खुसी छैनन्, नेपालको हार र जितलाई आफ्नै उपलब्धि झै ठान्ने म आज बिस्तारै हार र जितले खासै प्रभाव पार्न छाड्दै गएको छ।
दर्शकले खचाँखच भरिने टियु मैदान आज नियमित जसो खेलहरू टियु मैदानमा हुँदा समेत दर्शकको उपस्थित न्यून हुन थालेको छ। आज टियु मैदान पनि त्यति खुसी छैन, टियु मैदानले त्यो पहिला जस्तो दर्शकको प्रेम पाउन छाड्यो ,रूखका हाँगाहरूमा समेत नेपाली क्रिकेटको प्रेम फल्थ्यो। आज ती रूखका हाँगाहरू पनि उजाड भएका छन्। मैदान त्यही हो तर नेपाली क्रिकेटको परिस्थिती बदलिएको छ।
क्यानको भूमिका र उसले गरेका गल्तिहरू अनगिन्ती छन् त्यो सबैलाई अवगत नै छ। तर क्यान निलम्बनमा पर्दा समेत नेपाली क्रिकेट प्रतिको मोह घटेको थिएन। क्यान अनि पदाधिकारीलाई धेरै नै गाली गरियो त्यो एउटा पक्ष छ। आज खेलाडीहरू गुट उपगुटमा विभाजित भएर त्यो एकताबद्ध नेपाली क्रिकेट समर्थकहरू पनि विभाजित हुन् पुगेका छन्।
मैले हजारौं नेपाली क्रिकेट समर्थकको प्रतिनिधित्व गरेर बोल्दै छु, नेपाली क्रिकेट प्रती मोह घट्दै जानुको जिम्मा कसले लिन्छ? नेपाली क्रिकेट सँगको प्रेम छुटाउदै गएको जिम्मा कस्ले लिन्छ?
क्रिकेटसँगको त्यो गहिरो प्रेम अब फेरि हुन्छ कि हुँदैन? टियु मैदानले त्यो पहिला जस्तो दर्शकको प्रेम पाउँछ कि पाउँदैन? नेपालको जितमा पहिले जस्तो खुसीको आँसु आउन्छ कि आउँदैन? नेपालको हारमा अब पहिले जस्तो दु:खको आँसु बग्छ कि बग्दैन?
यो पनि हेर्नुहोस् -