भारतले दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको छ।
योसँगै घरेलु टोलीले तीन टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।
जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक २६ रन बनाए। ३१ बलमा १ चौकासहित उनी अविजित रहे। यस्तै हार्दिक पान्ड्या २० बलमा १ चौकासहित १५ रनमा अविजित रहे।
भारतलाई जितको लागि अन्तिम ६ बलमा ६ रन आवश्यक थियो। तीव्र गतिका बलर ब्लेयर टिकनरले पहिलो पहिलो बलमा हार्दिक पान्ड्यालाई एक रन दिए। दोस्रो बल सूर्यलाई डट राखे। तेस्रो बलमा कट एण्ड बोल्ड गर्न चुकेका थिए। चौथौ बलमा एक रन दिएपछि दुई बलमा तीन रन आवश्यक थियो। पाँचौं बलमा सूर्यले चौका हान्दै रोमाञ्चक जित दिलाए।
यसअघि ओपनर ईशान किशनले १९ रन बनाउँदा शुभमन गिलले ११ रन बनाए। राहुल त्रिपाठीले १३ रन बनाउँदा वासिन्टन सुन्दरले १० रन जोडे।
न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले र ईश सोधी १-१ विकेट लिए।
त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो।
न्युजिल्यान्डका कप्तान मिचेल सान्टनारले सर्वाधिक १९ रन बनाएर नटआउट रहे। यस्तै मार्क च्यापम्यान र माइकल ब्रेसवेलले समान १४–१४ रन बनाउँदा फिन आलेन र डेभोन कन्वेले समान ११-११ रन बनाएर आउट भए। अन्य कुनै पनि न्युजिल्यान्डका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका अर्शदीप सिंहले २ विकेट लिँदा कुलदीप यादव, युजभेन्द्र चहल, दीपक हुडा, वासिन्टन सुन्दर र हार्दिक पान्ड्याले समान १-१ विकेट लिए।
यसअघि पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो। अब तेस्रो तथा अन्तिम खेल बुधबार अहमदाबादमा हुनेछ।