भारतले न्युजिल्यान्डमाथि कीर्तिमानी जित निकालेको छ। योसँगै तीन खेलको टी-२० सिरिज भारतले २-१ ले जितेको छ।
बुधबार भएको तेस्रो तथा निर्णायक खेलमा भारतले न्युजिल्यान्डलाई १६८ रनको फराकिलो अन्तरले हराउँदै शानदार जित निकालेको हो।
यो भारतीय क्रिकेटको टी-२० आईमा सर्वाधिक अन्तरको जित हो। यसअघि भारतले आयरल्यान्डविरूद्ध सन् २०१८ मा १४३ रनले जितेको नै सर्वाधिक अन्तरको जित थियो।
भारतले दिएको २३६ रनको लक्ष्य पछ्याएको पाहुना टोली १२.१ ओभरमा ६६ रन बनाउँदै अलआउट भएको थियो। उसका लागि डर्याल मिचेलले सर्वाधिक ३५ रन बनाए। यस्तै कप्तान मिचेल सान्टनेरले १३ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका लागि हार्दिक पाण्ड्याले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिए। अर्सदीप सिंह, उमरान मलिक र शिभम् माभीले समान, २-२ विकेट लिए।
त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले युवा ओपनर शुभमन गिलले कीर्तिमानी शतक बनाएपछि निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो।
भारतका ओपनर शुभमन गिल ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय २६ रनमा अविजित रहे।
गिलले विराट कोहलीको कीर्तिमान तोड्दै भारतीय क्रिकेटमा इतिहास रचेका छन्। गिल भारतबाट टी-२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन्।
बगिलले विराट कोहलीले एसिया कपमा अफगानिस्तानविरुद्ध ६१ बलमा खेलेको १ सय २२ रनको अविजित इनिङ तोड्दै भारतबाट टी२० आईमा एक खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्।
व्यक्तिगत ३३ रनमा जीवनदान पाएका गिलको पहिलो टी २० आई शतक बनाएका हुन्। गिलबाहेक राहुल त्रिपाठीले २२ बलमा ४४ रन बनाए। यस्तै १३ बल खेलेका सूर्यकुमार यादवले २४ रन बनाए। हार्दिक पाण्ड्याले १७ बलमा ४ चौका र एक छक्कासहित ३० रन बनाए।
ओपनर ईशान किशन एक रनमै आउट भए पनि दोस्रो विकेटका लागि राहुल र गिलले ८० रनको साझेदारी गरेका थिए। यस्तै गिलले कप्तान हार्दिक पाण्ड्यासँग चौथो विकेटका लागि ४० बलमा १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए।
न्युजिल्यान्डका लागि माइकल ब्रेसवेल, ब्लेयर टिकनर, ईश सोधी र डर्याल मिचेलले एक-एक विकेट लिए।
तीन खेलको सिरिजमा पहिलो खेल न्युजिल्यान्डले २१ रनले जितेको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो।