नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण गराएको १० दिनपछि मोन्टी देसाइले औपचारिक रुपमा प्रमुख प्रशिक्षकको नियुक्ति पाएका छन्।
माघ पहिलो साता छनोट समितिले सिफारिस गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृतीका लागि सिधै राष्ट्रिय खेलकुद परिषदलाई पठाएको थियो।
तर राष्ट्रिय खेलकुद परिषदले बोर्ड बैठकको निर्णयबिना स्वीकृती नदिएपछि प्रशिक्षक नियुक्ति प्रक्रिया लम्बिएको थियो। गत साता क्यानको बोर्ड बैठकपछि मात्र प्रशिक्षक नियुक्ति प्रक्रिया अघि बढेको थियो।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रक्रियागत त्रुटि हुँदा प्रशिक्षक नियुक्ति भएको स्वीकार गर्दै मोन्टीलाई औपचारिक रुपमा सोमबार स्वागत गरे।
१० दिनअघि नै प्रशिक्षण थालेका मोन्टीले नेपाली क्रिकेटसँग २०१२ देखि नजिकएको बताउँदै नेपालको प्रमुख प्रशिक्षक नियुक्ति हुँदा आफूले सम्मान महासुस गरेको बताए। साथै नेपालको प्रमुख प्रशिक्षक भएर काम गर्न पाउँदा उत्साहित भएको समेत उनको भनाइ थियो।
उनले प्रमुख कामको रुपमा टिममा खेल्नयोग्य वातावरण बनाउने बताए। ‘मेरो पहिलो काम एउटा खुसी ड्रेसिङ रुम बनाउनु हो,’ उनले भने, ‘आगामी दुई वर्षमा मैले नेपाली टिमलाई खेल्नका लागि राम्रो वातावरण बनाउन कोशिस गर्छु।’
क्यानले उनीसँग दुई वर्षको सम्झौता गरेको छ। यसअघि तीन वर्ष वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक रहेका मोन्टीलाई दिइने पारिश्रमिक भने खुलाइएको छैन।
पछिल्लो १५ महिनामा नेपालका तीन प्रशिक्षक परिवर्तन भएको अवस्थामा मोन्टीले सन् २०२४ सम्म आफू नेपाली टिममा रहन प्रतिबद्ध रहेको बताए। तर टिममा रहने वा नरहने विषय क्यान र समर्थकको हातमा रहेको उनको भनाइ छ।
नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत फागुन महिनामा तीन वटा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ। तीन सिरिजमा कुल १२ एकदिवसीय खेल खेल्ने नेपालका लागि एक महिना महत्वपूर्ण हुने र त्यसका लागि राम्रो टिम निर्माण गर्ने उनले बताए।
‘पछिल्ला आठ-नौ दिनमा सबै खेलाडीसँग छलफल गरेको छु। उनीहरूको प्रदर्शन हेरेको छु। मैदानमा उनीहरुको प्रतिभा देखेको छु। अब हामी योजना बनाउनेछौं र मैदानमा उतार्न कोशिस गर्छौ,’ उनले भने, ‘आगामी सिरिज महत्वपूर्ण हुनेमा सचेत छु। यो कुरा खेलाडीले पनि बुझेका छन्।’
तीन वटा सिरिजपछि नेपालको लिग-२ मा आफ्नो स्थान टुंगो हुनेछ। त्यसपछि हुने विश्वकप छनोट वा प्लेअफबाट नेपालको एकदिवसीय मान्यताको टुंगो लाग्नेछ।
उनले आफ्नो कोशिस नेपालको एकदिवसीय मान्यता जोगाउने हुने भएको पनि बताए।
एक महिनामा १२ खेल
फागुन महिना नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि महत्वपूर्ण महिना हुँदैछ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम तीन वटा त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले एक महिनाको बीचमा खेल्दैछ।
यही तीन वटा सिरिजले नेपालको लिग-२ स्थान निर्धारण हुनेछ।
नेपालले फागुन २ गतेदेखि नेपालमा, फागुन १५ देखि युएईमा र फागुन २५ गतेदेखि नेपालमै गरी एक महिनामै तीन वटा सिरिज खेल्ने तालिका छ।
फागुन २ देखि ९ गते सम्म हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच खेल हुनेछ। यस्तै फागुन १५ देखि २२ गतेसम्म हुने सिरिजमा नेपाल, युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी फागुन २५ गते चैत २ सम्म हुने सिरिजमा नेपाल, पपुवा न्युगिनी र युएईबीच प्रतिस्पर्धा हुने तय छ।
लिग-२ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं, आठौं र नवौं सिरिज खेल्न लागेको हो।
९ सिरिजमा ४-४ खेल गरी कुल ३६ खेल खेल्ने नेपालले अहिलेसम्म ६ सिरिजका २४ खेल खेलिसकेको छ। अब अन्तिम तीन सिरिजमा नेपालले १२ खेल खेल्नेछ। तीन सिरिजमा चार-चार खेल गरी नेपालले एक महिनामा कुल १२ एकदिवसीय खेल खेल्ने तालिका छ।
नेपालले एक महिनाको बीचमा पहिलो पटक १२ वटा एकदिवसीय खेल खेल्न लागेको हो।
लिग-२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीनभित्र परे नेपाल एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ।
सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ।
लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।
सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २४ खेलबाट १८ अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ।
एकदिवसीय मान्यता
नेपालले सन् २०१८ मा पहिलोपटक एकदिवसीय क्रिकेट टिमको मान्यता पाएको थियो। सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेर नेपालले इतिहासमा पहिलोपटक एकदिवसीय टिमको मान्यता दिइयो।
नेपालको एकदिवसीय मान्यता सन् २०२२ सम्मका लागि भनिएको थियो। तर कोभिड-१९ कारण अन्तर्राष्ट्रिय क्रिकेटका खेल तालिका प्रभावित भएसँगै नेपाललाई सन् २०२३ को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता छ।
एकदिवसीय मान्यता पाएसँगै नेपालसहित सात देशले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्ने अवसर पाएका थिए। सन् २०२३ सम्म चल्ने यो सिरिजमा नेपालसहित प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्ने तालिका छ। जसमा ९ वटा त्रिकोणात्मक एकदिवसीय समावेश छन्।
लिग-२ आइसिसी क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगिता हो। लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। यी सातै देश एकदिवसीय मान्यता पाएका टिम हुन्।
लिग-२ विश्वकप छनोट मात्र नभएर एकदिवसीय टिमको अस्थायी मान्यता निर्धारण गर्ने प्रतियोगिता पनि हो।
जारी लिग-२ सकिदा शीर्ष तीन टिम भित्र पर्न सक्ने टिमले अर्को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।
लिग-२ को सातमध्ये पुछारका चार टिमको भने एकदिवसीय मान्यता धरापमा पर्नसक्छ।
यद्यपी लिग-२ को पुछारका चार टिमलाई आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न एक अवसर बाँकी नै रहन्छ।
लिग-२ का पुछारका चार टिम र आइसिसीको तेस्रो श्रेणीको लिग (आइसिसी विश्वकप च्यालेन्ज लिग) बाट आउने शीर्ष दुई टिमबीच क्वालिफायर प्लेअफ हुनेछ।
आइसिसीका अनुसार लिग-२ का चार र च्यालेन्ज लिगका दुई गरी कुल छ टिमले क्वालिफायर प्लेअफ खेल्नेछन्। जसमा शीर्ष चार टिमले एकदिवसीय मान्यतासहित लिग-२ मा स्थान पाउनेछन् भने पुछारका दुई टिमले च्यालेन्ज लिग खेल्नुपर्नेछ।