पहिलो सिजनको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) को अक्सनका लागि नेपालबाट पाँच जनाको नाम सिफारिस भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनमा नाम राख्नका लागि पाँच जना राष्ट्रिय टिमका खेलाडीको नाम सिफारिस गरेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए।
सिफारिस भएका नाममा राष्ट्रिय टिमकी कप्तान रूबिना क्षेत्री, सीता रानामगर, इन्दू बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्य छन्।
‘हामीले अक्सनका लागि नाम सिफारिस गरेका छौं। अन्तिम सूचीमा राख्न/नराख्ने विषय डब्लूपिएलको हो,’ कार्यवहाक सचिव पाठकले सेतोपाटीसँग भने।
यो सिजनको डब्लूपिएलमा पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमा बेंगलुरु, दिल्ली, गुजरात, लखनउ र मुम्बईले पहिलो सिजनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
लिगका लागि १३ फेब्रुअरीमा अक्सन हुँदैछ। जसमा एक टिमले १५ देखि १८ खेलाडीसम्म आबद्ध गर्न सक्नेछन्।
एक टिममा सात जना विदेशी खेलाडी राख्न पाइनेछ। सात विदेशी खेलाडी मध्ये एक खेलाडी एसोसिएट राष्ट्रका पनि हुने प्रावधान छ। जसका कारण नेपाली खेलाडी पनि डब्लूपिएल टिममा छनोट हुने सम्भावना देखिन्छ।
प्लेइङ-११ मा भने पाँच जना विदेशी खेलाडी राख्न पाइनेछ। पाँच मध्ये एक खेलाडी एसोसिएट देशका हुन सक्नेछन्।
लिगको अक्सनका लागि क्याप्ड प्लेयरको मूल्य ३० देखि ५० लाख भारु र अनक्याप्ड प्लेयरको मूल्य १० देखि २० लाख भारु रहेको छ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ) को आयोजनामा हुने लिगलाई महिला आइपिएलको रुपमा लिइएको छ। जनावरी २०२३ मा बिसिसिआइले लिगको नाम डब्लूपिएल हुने घोषणा गरेको थियो।
लिग आगामी मार्च ४ देखि २६ सम्म मुम्बईका दुई रंगशालामा हुनेछ। लिगमा कुल २२ खेल हुनेछन्।
लिग चरणमा एक अर्काविरुद्ध दुई प्रतिस्पर्धा गरेपछि शीर्ष टिम सिधै फाइनल पुग्नेछ। दोस्रो र तेस्रो टिमबीच फाइनल खेल्ने अर्को टिम टुंगो लगाउन खेल हुनेछ। एक टिमले कम्तिमा आठ र बढीमा दश खेल खेल्नेछ।