आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नामिबियाले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
नेपाल भ्रमणमा रहेको नामिबिया आफ्नो दोस्रो खेलमा पहिलो जित चाहान्छ भने स्कटल्याण्ड नेपालमा विजयी सुरूआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।
यसअघि पहिलो खेलमा नामिबिया घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबियाले बाजी मारेको छ।
सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेल खेल्दै ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ।
नामिबिया भने ३१ खेलबाट ३७ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ। आफ्ना सबै खेल खेलिसकेको ओमान ४४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। यस्तै सबै खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ।
युएईले अझै १० खेल खेल्न बाँकी रहँदा नेपालले ११ र पपुवा न्यूगिनिले सिरिजमा ८ खेल खेल्न बाँकी छ।
मंगलबारबाट सुरू त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। यस सिरिजमा सहभागी तीन वटै टिमले एक अर्काविरुद्ध समान २-२ खेल खेल्नेछन्।