आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामाथि स्कटल्यान्डले १० विकेटको सानदार जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले दिएको १५४ लक्ष्य स्कटल्यान्डले विना विकेटको क्षतिमा २२.१ ओभरमा पूरा गर्यो।
स्कटल्यान्डका लागि ओपनरद्वय केल कोइटजरले नटआउट ४६ रन र जर्ज मुन्सीले नटआउट १०३ रन जोडे। मुन्सीको यो पहिलो एकदिवसीय शतक हो।
उनले जितका लागि एक रन चाहिएको अवस्थामा चौका प्रहार गरेर रोमाञ्चक शतक हिर्काएका थिए। त्यसअघि अघिल्लो ओभरमा ४६ रन बनाएका कोइटजरले मुन्सीको शतकका लागि आफूले रन प्रहार गरेनन्।
नेपाल, नामिबिया र स्कटल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १५३ रनमा अलआउट भयो।
नामिबियाका लागि ओपनर लोह्यान्डल लाउरेन्सले अर्धशतक प्रहार गरे। उनले ८८ बलमा ५४ रन जोडे।
त्यसपछिका चार ब्याट्सम्यान भने सस्तैमा आउट भए। कार्ल बिरकेनस्टक र भान लिङ्गेन ४-४ रनमा आउट हुँदा कप्तान इरासमस र निकोल इटन डकआउट भए।
जान ग्रिनले २५ रन जोड्दा बेर्नाल्ड स्कोलट्जले ३० रन जोडेका थिए।
बलिङमा स्कटल्यान्डका मिकेल लिस्कले ४ विकेट लिँदा सफायन शरिफ र मार्क वाटले ३-३ विकेट लिए।
सिरिजमा यसअघि मंगलबार नेपालले नामिबियालाई २ विकेटले हराएको थियो। सिरिजमा नेपालले स्कटल्यान्डसँग शुक्रबार खेल्दैछ।