स्कटल्यान्ड आइसिसी विश्वकप लिग-२ को च्याम्पियन बनेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियालाई १० विकेटले पराजित गरेसँगै स्कटल्यान्ड लिग-२ मा आफ्नो अन्तिम तीन खेल बाँकी छदै च्याम्पियन बनेको हो।
लिग-२ मा स्कटल्यान्डले ३३ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।
लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले आफ्नो ११ खेल खेल्न बाँकी छदा २० अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।
लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।
लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।
आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।
सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।