रुपन्देहीको भैरहवामा हुने पाँचौं खडगप्रसाद गौचन स्मृति यू-१९ राष्ट्रिय प्रतियोगिताका लागि करण घर्ती मगरको कप्तानीमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) को यू-१९ टिमको घोषणा भएको छ।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको पिताको स्मृतिमा आयोजना गरिएको उक्त राष्ट्रिय यू-१९ प्रतियोगिताका लागि पल्सर सिइसीको टोली बिहिबार भैरहवा प्रस्थान गर्नेछ।
प्रतियोगितामा सहभागी हुने पल्सर सिईसीको यू-१९ टिमलाई हौसला प्रदान गर्न प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी तथा नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष उपेन्द्र भट्टराईको आथित्यतामा बुधबार एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको थियो।
साथै उक्त कार्यक्रममा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्काले पनि आफ्ना भनाई राखी टिमलाई थप उर्जा प्रदान गर्नु भएको थियो।
सदस्य सचिव भण्डारीले नेपाली क्रिकेट, अझ विशेष गरी बागमती प्रदेशमा क्रिकेट खेलको विकाश तथा प्रवर्धनका निमित्त आफु प्रतिवद्ध रहेको, महिला खेलाडीका लागि अन्तर्राष्ट्रीय स्तरकै क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको र अझै महिला तथा पुरुष खेलाडीको वृत्तिविकासका लागि अन्य कार्यक्रमहरु पनि आयोजनामा रहेको भन्दै यु१९ टिमलाई प्रतियोगिताका लागि शुभकामना प्रदान गरे।