काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा ९ बजेबाट सुरू हुने खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ।
नेपालले नामिबियाको खेलबाट ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको हो। टोलीमा अन्य कुनै परिवर्तन नभएको कप्तान रोहित पौडेलले जानकारी दिए।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।
राजधानीमा जारी आईसीसी विश्व क्रिकेट लिग टू सिरिजमा घरेलु टोली नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
आफ्ना अन्तिम तीन खेल अगाडि नै च्याम्पियन भइसकेको स्कटल्याण्ड र घरेलु भूमिमा लगातार दोस्रो जित खोजिरहेको नेपालबीच बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरू हुनेछ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा नामिबियामाथि कीर्तिमानी जित निकालेको थियो। घरेलु मैदान र समर्थकको साथ रहेको नेपालले दोस्रो खेलमा पनि लय समात्ने प्रयासमा हुनेछ।
कप्तान रोहित पौडेलले नामिबियाको खेलबाट प्राप्त आत्मविश्वास र उर्जालाई स्कटल्याण्डविरूद्ध प्रयोग गर्ने बताए।
पहिलो खेलमा नामिबियाविरुद्ध सानदार प्रदर्शन गरेको नेपालको असली परिक्षा आज हुनेछ। स्कटल्यान्डको बलिङ र ब्याटिङ दुबै विश्वस्तरिय रहेको छ। नामिबियालाई हराउन ओपनर कुशल भुर्तेलले १ सय १५ र कप्तान रोहित पौडेलले ७२ रनको इनिङ खेलेका थिए।
२५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। सिधै ओडीआई जोगाउन नेपाललाई बाँकी एघारमध्ये कम्तीमा आठ खेल जित्नै पर्ने हुन्छ।
च्याम्पियन भएर यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भइसकेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।
नेपाल आफ्नो भविष्यको लागि संघर्ष गर्दा स्कटल्यान्डको लागि प्रतिष्ठाको लडाई हुनेछ। स्कटल्यान्डले नेपालसँग टियु मैदानमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। पहिलो पटक नेपाल आएको स्कटल्यान्डले नेपालमा नामिबियाविरुद्ध डेब्यू गरेको थियो।
नामिबियाविरुद्ध १ सय ५४ रनको विजयी लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो। उक्त खेलमा स्कटल्यान्डका जर्ज मुन्शेले ६१ बलमा १२ चौका र ७ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए।
ओडिआईमा स्कटल्यान्ड र नेपालबीच हालसम्म चार खेल भएका छन्। नेपाल एक र स्कटल्यान्ड तीन खेलमा विजयी भएका छन्। नेपालले जत जुलाईमा स्कटल्यान्डलाई उसकै मैदानमा पाँच विकेटले हराएको थियो। त्यो नै नेपालले स्कटल्यान्डमाथि जितेको कुनै पनि खेल थियो।