काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका हुन्। उनले १५ औं ओभरको पाँचौ बलमा स्कटल्याण्डका म्याथ्यु क्रसलाई एलबिडब्लुको धरापमा पारेका थिए। त्यसपछि १७ औं ओभरको पहिलो बलमा उनले थोमस म्याकिन्टोसलाई पनि एलबिडब्लुको धरापमा पारे।
यअसघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला स्कटल्याण्डलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालका लागि कुशल मल्लले पहिलो दुई विकेट लिएका थिए।
कुशल मल्लले दुबै ओपनरलाई आउट गरेका हुन्।
आठौं ओभरको चौथो बलमा स्कटिस कप्तानको पहिलो विकेट लिएका कुशलले १२ औं ओभरको पहिलो बलमा अर्का ओपनर क्रिस्टोफेर म्याकब्राइडलाई एलबिडब्लुको धरापमा पारे।
यो समाचार तयार पार्दासम्म स्कटल्याण्डले १७ ओभरमा ४ विकेट गुमाउँदै ६३ रन बनाएर खेलिरहेको छ।
नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो। स्कटल्यान्ड बिना दबाब मैदानमा उत्रने छ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग–२ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ ।
नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ।
नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो।
नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ। नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।