आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले शुक्रबार स्कटल्यान्डलाई ३ विकेटले पराजित गर्यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।
नेपालको जितमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतक प्रहार गरे।
कुशलले ८१ रनको योगदान गरे। उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
दिपेन्द्रले नटआउट ८५ रन जोडे। उनले ११६ बलमा ८ चौका र १ छक्का हिर्काए।
कुशल र दिपेन्द्रबीच छैटौं विकेटका लागि सय रनको साझेदारी भएको थियो। यहि साझेदारी नेपालको जितको आधार बन्यो।
खेलपछि दिपेन्द्रले आफूलाई फिनिसरको भूमिका खेल्दा रमाइलो लाग्ने बताए।
‘मलाई जे भूमिका दिनु भएको छ, त्यहि गरिरहेको छु। आज ब्याटिङका लागि मैदान जादा साझेदारी गर्नुपर्ने परिस्थिति थियो। सुरुमा साझेदारी गर्ने सोचले खेले। अन्त्यमा फिनिस गर्नु थियो, त्यो पनि गरे,’ खेलपछि दिपेन्द्रले भने,’टप अर्डरमा खेलेर फिनिङ गर्न सके भने पनि रमाइलो लाग्छ। पछाडि खेलेर फिनिस गर्न सके पनि रमाइलै लाग्छ। फिनिसिङको भूमिका खेल्न पाउँदा एमदमै खुसी लाग्छ।’
नेपालले पाँच विकेट गुमाएर ७७ रन जोड्दा कुशल र दिपेन्द्र मैदानमा थिए। टिमका सिनियर खेलाडी दिपेन्द्रमाथि नेपालको भरोसा र विश्वास थियो। त्यसैले दिपेन्द्रले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डोहोर्याएका थिए।
‘कुशलले अलि आक्रामक खेलिरहेको थियो। मैले उसलाई आफ्नो रेन्जमा आएको बल बाहिर कटाउन सक्छन् भने कटा नत्र भने सिंगल रनका लागि खेल भने। यताबाट मैले स्ट्राइक रोटेट गरिरहेको छु, तलाइँ साथ दिन्छु भने,’ दिपेन्द्रले कुशलसँग भएको कुराकानीबारे भने।
प्रशिक्षक मोन्टी देसाइले ‘वान बल ब्याटल’ सिकाएको दिपेन्द्रले बताए। स्कटल्यान्डविरुद्ध पनि सधैं एक बलमा मात्र केन्द्रीत भएर खेलेको उनको भनाइ छ। ‘अरु केही सोचिन। हरेक पटक एउटा बलका लागि मात्र सोचिरहे,’ उनले भने।
लगातार दुई जित निकालेपछि टिममा राम्रो माहोल बनेको उनले बताए। ‘एक महिनामा खेल्ने १२ खेल हाम्रो लागि १२ वटा फाइनल हो। दुई वटा जित्यौं अब दश वटा फाइनल बाँकी छ,’ उनले भने, ‘हामी एउटा-एउटा खेल गरेर अघि बढेका छौं।’
लिग-२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।