राजधानीमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा खेल बिहान ९ बजेबाट सुरू हुनेछ। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपालले तेस्रो जितको खोजिमा हुनेछ।
सुरूआती दुई खेलमा सानदार जित निकालेको नेपालको मनोबल उच्च। नेपाल त्यहिँ नतिजालाई निरन्तरता दिँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले पहिलो खेलमा नामिबियाले दिएको २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्दै कीर्तिमानी जित निकालेको थियो।
दोस्रो खेलमा बलियो टोली स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य ३ ओभर अगाडिनै पुरा गरेको थियो।
यता नामिबिया नेपाल भ्रमणमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ। पहिलो खेलमा नेपालसँग पराजित भएको नामिबिया दोस्रो खेलमा स्कटल्यान्डसँग १० विकेटले स्तब्ध भएको थियो।
लिगमा नेपाल २६ खेलबाट १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ। शीर्ष तीनमा पर्न बाँकी नेपालले बाँकी सबै १० खेल जित्नुपर्ने हुन्छ। यस्तै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ।
उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ।
लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।
लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना १० खेल खेल्न बाँकी छदा २६ खेलबाट २२ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।
लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।
लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।
आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।
सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।