ओपनर मोहम्मद वासिमको विष्फोटक ब्याटिङमा घरेलु टोली युएईले अफगानिस्तानमाथि ९ विकेटको सानदार जित हात पारेको छ।
योसँगै तीन खेलको टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज १-१ को बराबरीमा आएको छ।
दोस्रो टि २० आई खेलमा १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो। युएईको जितमा मोहम्मद वासिमले ९१ रनको बिस्फोटक ब्याटिङ गरे।
५० बल खेलेका उनले ८ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै अर्का ओनर वृत्य अरविन्दले ४६ बलमा २ चौकासहित ३८ रन बनाउँदा सिपी रिजवान ९ रनमा अविजित रहे।
त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। उसका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिक ३७ रन बनाए।
ओपनर हज्रतुल्लाह जजाईले २७, अस्फार जजाई १८, रहमानउल्लाह गुरबाज १५, करिम जन्नत ७, आजमतुल्लाह ओमरजाई १२, राशिद खानले १४ रन बनाउँदा इब्राहिम जद्रान १ रनमा क्याच आउट भए। युएईका जहुरू खान र जवार फरिदले समान २-२ विकेट लिए। जुनैद सिद्दिक र अकिफ राजाले एक-एक विकेट लिए।
यसअघि पहिलो खेलमा अफगानिस्तान पाँच विकेटले विजयी भएको थियो। अब तेस्रो तथा निर्णायक खेल आज राति हुनेछ।