दिल्लीमा भएको दोस्रो टेस्टमा अस्ट्रेलियामाथि घरेलु टिम भारतले आइतबार ६ विकेटको जित निकालेको छ।
११५ रनको लक्ष्य भारतले चार विकेट गुमाएर पार गर्यो। भारतका लागि दोस्रो इनिङमा कप्तान रोहित शर्मा र चेतेश्वर पुजाराले समान ३१-३१ रन जोडे।
त्यसअघि पहिलो इनिङमा अस्ट्रेलियाले २६३ रन बनाउदा भारतले २६२ रन जोडेको थियो।
दोस्रो इनिङमा अस्ट्रेलिया ११३ रनमै अलआउट भएपछि भारतले ११५ रनको सहज लक्ष्य पाएको थियो।
पहिलो इनिङमा ३ विकेट र दोस्रो इनिङमा ७ विकेट गरी कुल १० विकेट लिएका रविन्द्र जडेजा प्लेयर अफ दि म्याच भए।
जितपछि भारतले विश्व टेस्ट च्याम्पियनसिपमा १६ खेलबाट १२३ अंक जोडेको छ। भारत दोस्रो स्थानमा छ। शीर्ष स्थानको अस्ट्रेलियाको १७ खेलबाट १२६ अंक छ।
पाँच टेस्टको सिरिजको पहिलो टेस्टमा भारतले एक इनिङ र १३२ रनको जित निकालेको थियो।