आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डले नामिबियालाई ४३ रनले पराजित गरेको छ।
सोमबार कीर्तिपुरस्थिति त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १७८ रनमै अलआउट भएपछि स्कटल्यान्डले जित निकालेको हो।
२५ ओभर चल्दै गर्दा ४ विकेटको क्षतिमा १२४ रन जोडेको नामिबियाले बाँकी ६ विकेट ५४ रन बनाउदा गुमायो।
नामिबियाका लागि ओपनर लो लाउरेन्सले सबैभन्दा बढी ५२ रन जोडे।
बलिङमा स्कटल्यान्डका मार्क वाटले ४ विकेट लिए भने माइकल लेस्कले ३ विकेट हात पारे।
त्यसअघि नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा २२१ रनम अलआउट भयो।
स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७ रन जोडे भने कप्तान रिची बेरिङटनले ३२ रन बटुले।
टोमस म्याकिङटोसले ३४ रन तथा माइकल लेस्कले २९ रन बनाए। बलिङमा नामिबियाका ट्रम्पलम्यानले ५ विकेट लिए। यस्तै टाङगेनी लुङमेनीले २ विकेट हात पारे।
सिरिजमा यसअघि नेपालले नामिबियालाई दुवै खेलमा र स्कटल्यान्डलाई एक खेलमा पराजित गरेको थियो।
सिरिजको अन्तिम खेलमा भोलि मंगलबार नेपाल र नामिबियाबीच खेल हुनेछ। सिरिजमा नामिबिया चारै खेलमा पराजित भयो।