आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज अन्तिम खेल भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डविरुद्धको खेलमा घरेलु टिम नेपालले टस जितेर बलिङ गरिरहेको छ।
खेलमा नेपालले आठौं ओभरमा पहिलो विकेट लिन सफल भएको छ। नेपालका लागि सन्दीप लामिछानेले विकेट लिए। उनले केल कोइट्जरलाई २२ रनमा एलबिडब्लूको धरापमा पारे। स्कटल्यान्डले ९ ओभरमा १ विकेटको क्षतिमा ४५ रन बनाएको छ।
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।
नेपाली टिम : रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल।
सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो।
लिग-२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग-२ को शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्न पर्ने चुनौती छ।