आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले क्लिनस्विप गर्यो।
सिरिजमा चारै खेलमा जित निकाल्ने क्रममा नेपालले लिग-२ च्याम्पियन टिम स्कटल्यान्डलाई मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा २ विकेटले पराजित गर्यो।
सन्दीप लामिछानेले चार विकेट र करण केसीले तीन विकेट लिएपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डलाई नेपालले २१२ रनमै सेमेटेको थियो।
तर ब्याटिङमा भने नेपाली टिम धर्मरायो। लगातार विकेट गएपछि कुनै बेला ५ विकेटको क्षतिमा ११८ रन जोडेको नेपाली टिमले ३५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा लक्ष्य पार गरेर जित निकाल्न सफल भयो।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ९५ रन जोडेपछि नेपालले जित निकाल्न सफल भयो। उनले १०१ बल खेल्दा ७ चौका र ४ छक्का हिर्काए।
दुई विकेट गुमाएपछि ब्याटिङमा आएका रोहितले त्यसपछिका हरेक ब्याटसम्यानसँग साझेदारी गरे। नवौं विकेटका लागि करण केसीसँग गरेको ७५ रनको साझेदारी जितको आधार बन्यो। करणले नटआउट ३१ रन जोडे।
नेपालको जितमा नायक सावित बनेका रोहितले जितपछि आनन्द महसुस गरेको बताए।
‘जितका लागि चार रन चाहिएको थियो। करण दाइसँग एक एक रन गरेर जित्ने कुरा भइरहेको थियो। बलरले खुट्टामा बल फ्याँके। ब्याटमा बल लाग्ने बित्तिकै चार रन हुन्छ भन्ने थाहा भइकेको थियो। त्यति बेला राहत महसुस भयो। चेज भएपछि एकदमै आनन्द भयो,’ रोहितले वियजी चौका प्रहार गरेको क्षणबारे बताए।
लगातार विकेट गुमेपछि रोहितले धैर्यपूर्वक ब्याटिङ गरेका थिए। बीचमा लगातार विकेट गएपछि उनीमाथि दबाब थपिएको थियो।
‘विकेट गइरहेको थियो। ६ विकेट जादा पनि जिताउन सक्छु जस्तो लागेको थियो। तर बीचमा फेरि विकेट गयो। करण दाइ आएपछि एकछिन पार्टनरसिप भयो। त्यसपछ अब जिताउन सकिन्छ भन्ने विश्वास लाग्यो,’ उनले भने।
मंगलबारको आफ्नो ब्याटिङलाई रोहितले करिअरको उत्कृष्ट इनिङको मध्येको एकमा लिएका छन्।
नेपालले कीर्तिपुरमा खेलेका चारै खेलमा जित हात पार्यो। चारै खेलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो। चारै खेलमा लक्ष्य पार गर्दै जित निकाल्यो।
टसबारे रोहितको भनाइ छ, ‘यहाँ खेल्दा टस एकदमै महत्वपूर्ण हुन्छ। विहानको अवस्थामा बलरलाई साथ दिन्छ। खेलमा टसले पनि निकै महत्व राख्यो।’
जितपछि नेपालले लिग-२ मा आफ्ना अन्तिम दुई सिरिजअघि २८ खेलबाट २६ अंक जोडेको छ। नेपाल अंक तालिकामा छैटौं स्थानमा छ। बाँकी आठ खेलबाट नेपालको लिग-२ स्थान पक्का हुनेछ। लिग-२ को शीर्ष तीन परे एकदिवसीय मान्यता जोगिनुका साथै विश्वकप छनोटमा स्थान पक्का हुनेछ। शीर्ष चारमा परे एकदिवसीय मान्यताका लागि सहज स्थिति हुनेछ।
नेपालले अर्को साता दुबईमा युएई र पिएनजीसँग सिरिज खेल्नेछ। लगत्तै दुवै टिमसँग घरेलु मैदानमा अन्तिम सिरिज हुनेछ।
बाँकी दुई सिरिजबारे रोहित भन्छन्, ‘अहिले हामीले एक पटकमा एक खेलमा केन्द्रीत भएर अघि बढेका छौं। दुबई गएर पनि यसरी नै खेल्छौं। सबै खेल हाम्रा लागि फाइनल हुन्। हामी ओभर एक्साइटेड पनि हुनु भएन।’
स्कटल्यान्डविरूद्ध कप्तान पौडेलले दिलाएको जित
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल लगातार चौथो जित निकालेको छ।
आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो।
आजको जितका लागि कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरे। दुई विकेट गुमेपछि मैदान आएका पौडेलले विभिन्न उतारचढाव पार गर्दै टोलीलाई जितको बाटो देखाएका हुन्। उनले अविजित ९५ रन हाने। १०१ बल खेलेका पौडेलले ७ चौका र ४ छक्का प्रहार गरे।
ब्याटिङका लागि पौडेल मैदानमा आउँदा ६.५ ओभरको खेलमा नेपालले जम्मा १९ रन बनाउन सकेको थियो।
त्यसपछि आएका हरेक ब्याट्सम्यानसँग पौडेलले साझेदारी गरे। कुशल मल्लसँग उनले ३७ रनको साझेदारी गरे। त्यसपछि आएका सन्दीप जोरा एक रनमै आउट भएपछि नेपाल झन् दबाबमा पर्यो।
दीपेन्द्रसिंह ऐरीसँग ४२ रनको साझेदारी गरेर पौडेलले नेपालको स्कोर १ सय रन कटाए।
त्यसपछि आएका सोमपाल कामीसँग पौडेलले ११ रन र सन्दीप लामिछानेसँग २४ रनको साझेदारी गरे।
लामिछाने ९ रनमा आउट भएपछि नेपाल ८ विकेटको क्षतिमा १३८ रन बनाएर खेलिरहेको थियो। जितका लागि नेपाललाई थप ७५ रन चाहिएको थियो।
त्यसपछि आएका करण केसीले भने पौडेललाई राम्रो साथ दिए। दुबै जनाले सुझबुझपूर्ण ब्याटिङ गरेपछि केसी र पौडेलबीच ७५ रनकै साझेदारी भयो। नवौं विकेटका लागि नेपाली ब्याटरको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो। यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले नेदरल्यान्डविरूद्ध सन् २०१८ मा नवौं विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए।
तत्कालीन कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कारको आरोपमा पक्राउ परेपछि नेपाल क्रिकेट संघ (क्यान) उनलाई निलम्बन गर्दै २० वर्षका पौडेललाई कप्तानको जिम्मेवारी दिएको थियो।
यो सिरिजमा कप्तान पौडेलले नामिबियाविरूद्ध पनि ७२ रन जोडेका थिए। त्यही रनको सहयोगको नेपालले पहिलो खेलमै नामिबियालाई हराएको थियो।
नामिबियासँगको अर्को खेलमा पनि उनले ३९ रनको महत्वपूर्ण योगदान गरेका थिए।