आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियालाई युएईले १ विकेटले पराजित गरेको छ।
नामिबियाले ९२ रनको झिनो लक्ष्य दिए पनि युएईले ३३ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो।
युएईका लागि आयन खानले नटआउट ३५ रन जोडे। उनले ५४ बल खेलेर २ चौका र १ छक्का हिर्काए।
युएईका ओपनरद्वय मोहमद वासिम ११ रन र वृत्य अरविन्द १८ रनमा आउट भए। कप्तान चुन्दनगपोयिल रिजवानले ११ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नामिबियाका ताङगेनी लुङगामेनीले ४ विकेट लिए भने ट्रम्पलम्यान ३ विकेट हात पारे। बेन शिकोङगोले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३१.१ ओभरमा ९१ रन जोड्दा सबै विकेट गुमायो।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले सबैभन्दा बढी ३० रन बनाए। जेन ग्रिन २४ रन र भान लिङ्गेनले १५ रन जोडे। बाँकी आठ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा युएईका जाहूर खान, आयन खान र कार्तिक मेयप्पनले ३-३ विकेट लिए।
नेपालमा भएको त्रिकोणात्मक सिरिज खेलेपछि नामिबिया युएई पुगेको हो। लिग-२ अन्तर्गत अर्को साता दुबईमा नेपाल, युएई र पिएनजीबीच त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ। लगत्तै लिग-२ को अन्तिम सिरिजमा नेपालमा हुँदैछ। फागुन अन्तिम साता हुने सिरिजमा युएई, नेपाल र पिएनजी नै भिड्नेछन्।
लिग-२ को च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेल खेलेर ५० अंक जोडेको छ भने दोस्रो स्थानको ओमानको ४४ अंक छ। दुवै टिम विश्वकप छनोटमा पुगिसकेका छन्।
नामिबियाअन्तिम एक खेलअघि ३७ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको अमेरिकाले ३५ अंक जोडेको छ। युएई २९ अंकसहित पाँचौ स्थानमा छ। छैटौं स्थानको नेपालको अन्तिम ८ खेलअघि २६ अंक र पिएनजीको ५ अंक छ।
नेपाललाई एकदिवसीय मान्यता जोगाउन बाँकी रहेका आठ मध्ये पाँच खेल जित्नु पर्ने हुन्छ भने विश्वकप छनोटमा पुग्न सबै खेल जित्नु पर्ने अवस्था छ।
लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्दा पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।