नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आइतबार सुर्खेत हुन लागेको छ।
सन् २०२२ मा गर्नुपर्ने वार्षिक साधारण सभा यसपटक गर्न लागिएको हो।
२२ डिसेम्बर भित्र साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएपनि विशेष कारणवश ढिला भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
भोलि वीरेन्द्रनगरमा रहेको होटल शुभमा साधारण सभा आयोजना गरिएको छ। सभाको लागि सबै तयारी पूरा भएको अध्यक्ष चन्दले बताए।
साधारण सभामा नियमित एजेण्डाहरूमाथि छलफल हुनेछ।
‘खास विशेष केही एजेण्डा छैनन्, नियमित बजेट, कार्यक्रम लगायतका एजेण्डामाथि छलफल हुन्छ,’ अध्यक्ष चन्दले भने।
संघको यो कार्यकाल असोजमा सकिने भएपनि त्यसभन्दा अगाडि निर्वाचन गर्ने योजनामाथि साधारण सभामा छलफल हुनेछ।
यस्तै संघको विधान संशोधनका विषयमा पनि छलफल गर्ने र संशोधन समिति गठन गर्ने निर्णय साधारण सभाबाट हुनसक्ने उनले बताए।
पदाधिकारीसहित १ सय जनाभन्दा बढीको सहभागिता रहने वार्षिक साधारण सभाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नेछन्।
कर्णालीमा पहिलोपटक संघको साधारण सभा आयोजना गरिएको हो। खेलकुद र यसका पूर्वाधारबारे सन्देश दिने उद्देश्यका साथ साधारण सभा सुर्खेतमा आयोजना गरिएको अध्यक्ष चन्दले बताए।
‘पूर्वाधार नभए क्रिकेटमा अगाडि बढ्न सम्भव हुँदैन, कर्णालीमा अहिलेसम्म क्रिकेटका लागि आवश्यक पूर्वाधार नै छैनन्,’ चन्दले भने, ‘यसले गर्दा यहाँ क्रिकेट खेलाडी उत्पादनमै चुनौती छ, साधारण सभाबाट यससम्बन्धि एकखालको सन्देश दिने उद्देश्य पनि हो।’