युएईमा रहेका नेपालको सिनियर क्रिकेट टिम र यू-१९ टिमले आज आ-आफ्ना खेल खेल्दैछन्। यू-१९ टिमको खेल नेपाली समयअनुसार सवा ११ बजे र सिनियर टिमको खेल मध्यान्ह पौने १२ बजे सुरु हुनेछन्।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजबाट नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु हुँदैछ। सिरिजमा आज नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिएनजीसँग खेल्दैछ।
अब लिग-२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ। तीनै टिमले यो महिना दुई सिरिजमा ४-४ गरी ८ खेल खेल्नेछन्।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा रहदा छैटौं स्थानको नेपालको २८ खेलबाट २६ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक छ।
नेपालले शीर्ष तीनमा पर्न सात खेल र एकदिवसीय मान्यता जोगाउन ५ खेल जित्नु पर्नेछ।
नेपाल, युएई र पिएनजीबीच फागुन १५ देखि युएईमा सिरिज हुँदा अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ।
यू-१९ विश्वकप छनोट
यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। हङकङविरुद्ध हुने खेल मालेक क्रिकेट मैदानमा हुनेछ।
नेपालले छनोटमा लगातार दुई खेलमा जित हात पारिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।
छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।
२ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।
नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१० विश्वकप गुमाइसकको छ।
सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो। सन् २०१० मा छनोट हुन नसकेको नेपालले २०१२ को विश्वकप पनि खेलको थियो।