यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा हङकङले नेपाललाई १२१ रनको लक्ष्य लिएको छ।
सोमबार युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा १२० रनमा अलआउट भयो।
हङकङका लागि पार्थ भागवतले ३६ रन र मोहमद जाहिरले २९ रन बनाए।
बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ९ ओभरमा १९ रन खर्चिए।आकाश चन्द र सुवास भण्डारीले २-२ विकेट लिए। दिपेश कँडेलले १ विकेट हात पारे।
नेपालले छनोट प्रतियोगितामा लगातार दुई खेलमा जित हात पारिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।
प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।
२ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।
नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१० विश्वकप गुमाइसकको छ।
सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।