आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन जोड्यो।
पिएनजीका लागि चाड सोपरले नटआउट ३६ रन जोडे। उनले ५३ बलमा २ चौका प्रहार गरे।
कप्तान असद भालाले ५३ बल खेलेर ३६ रन जोडे। ४ चौका प्रहार गरेका उनलाई कुशल मल्लले आउट गरेका थिए।
विकेटकिपर ब्याट्सम्यान किपलिन डोरिगाले २९ रन र सेसे बाउले ३१ रन बनाए।
१५ बलमा समान २-२ चौका र छक्का प्रहार गरेका नोर्मान भानुआले २५ रन बनाए। ४९ ओभरको सुरुवाती दुई बलमा छक्का र चौका हिर्काएका उनलाई कुशल मल्लले दिपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए। उनले ९ ओभरमा २८ रन खर्चिए।
कुशल मल्लले २ विकेट लिँदा डेब्यू खेलाडी प्रतिश जिसीले १ विकेट हात पारे। करण केसी र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।
आजबाट नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु भएको हो।
अब लिग-२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ। तीनै टिमले यो महिना दुई सिरिजमा ४-४ गरी ८ खेल खेल्नेछन्।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा रहदा छैटौं स्थानको नेपालको २८ खेलबाट २६ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक छ।
नेपालले शीर्ष तीनमा पर्न सात खेल र एकदिवसीय मान्यता जोगाउन ५ खेल जित्नु पर्नेछ।
नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ।