आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।
पिएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशलले ५९ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अहिलेसम्म ५ चौका प्रहार गरेका छन्।
अर्का ओपनर आसिफ शेख ४४ रन बनाएर रनआउट हुँदा ज्ञानेन्द्र मल्लले ४ रन मात्र जोड्न सके। अहिले कुशलसँगै कप्तान रोहित पौडेलले ब्याटिङ गरिरहेका छन्।
नेपालले १९ ओभरमा २ विकेट गुमाउँदा १०३ रन जोडेको छ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन जोड्यो।
पिएनजीका लागि चाड सोपरले नटआउट ३६ रन जोडे। उनले ५३ बलमा २ चौका प्रहार गरे।
कप्तान असद भालाले ५३ बल खेलेर ३६ रन जोडे। ४ चौका प्रहार गरेका उनलाई कुशल मल्लले आउट गरेका थिए।
विकेटकिपर ब्याट्सम्यान किपलिन डोरिगाले २९ रन र सेसे बाउले ३१ रन बनाए।
१५ बलमा समान २-२ चौका र छक्का प्रहार गरेका नोर्मान भानुआले २५ रन बनाए। ४९ ओभरको सुरुवाती दुई बलमा छक्का र चौका हिर्काएका उनलाई कुशल मल्लले दिपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए। उनले ९ ओभरमा २८ रन खर्चिए।
कुशल मल्लले २ विकेट लिँदा डेब्यू खेलाडी प्रतिश जिसीले १ विकेट हात पारे। करण केसी र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।
आजबाट नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु भएको हो।
अब लिग-२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ। तीनै टिमले यो महिना दुई सिरिजमा ४-४ गरी ८ खेल खेल्नेछन्।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा रहदा छैटौं स्थानको नेपालको २८ खेलबाट २६ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक छ।
नेपालले शीर्ष तीनमा पर्न सात खेल र एकदिवसीय मान्यता जोगाउन ५ खेल जित्नु पर्नेछ।
नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ।