आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले लगातार पाँच खेलमा जित निकालेको छ। लगातार पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित निकाल्दै कीर्तिमान बनाउने क्रममा नेपालले सोमबार पपुवा न्युगिनी (पिएनजी) लाई ४ विकेटले पराजित गर्यो।
यसअघि नेपालले फागुन पहिलो साता घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलेका चारै खेलमा लगातार जित निकालेको थियो।
सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिएनजीमाथि जित निकाल्ने क्रममा नेपालले २०४ रनको लक्ष्य ६ विकेट गुमाएर ४५.२ ओभरमा पूरा गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ५६ रन जोड्ने क्रममा ६९ बलमा ५ चौका हिर्काए।
अर्का ओपनर आसिफ शेख ३९ बलमा ४४ रन बनाएर खेलिरहदा रनआउटको सिकार बनेका थिए। आसिफ र कुशलबीच पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी भएको थियो।
ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले २१ बलमा २० रन जोडे। आरिफ शेखले ६२ बलमा जोडेको ३३ रन महत्वपूर्ण सावित बन्यो। आरिफले १ चौका र १ छक्का हिर्काए।
दिपेन्द्रसिंह ऐरीलाई २२ रन बनाउँदा सेसे बाउले बोल्ड गरेका थिए। कुशल मल्लले नटआउट १२ रन र सोमपाल कामीले नटआउट ५ रन जोडे।
बलिङमा पिएनजीका असद भालाले ३ विकेट लिए।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन जोड्यो।
पिएनजीका लागि चाड सोपरले नटआउट ३६ रन जोडे। उनले ५३ बलमा २ चौका प्रहार गरे।
कप्तान असद भालाले ५३ बल खेलेर ३६ रन जोडे। ४ चौका प्रहार गरेका उनलाई कुशल मल्लले आउट गरेका थिए।
विकेटकिपर ब्याट्सम्यान किपलिन डोरिगाले २९ रन र सेसे बाउले ३१ रन बनाए।
१५ बलमा समान २-२ चौका र छक्का प्रहार गरेका नोर्मान भानुआले २५ रन बनाए। ४९ ओभरको सुरुवाती दुई बलमा छक्का र चौका हिर्काएका उनलाई कुशल मल्लले दिपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए। उनले ९ ओभरमा २८ रन खर्चिए।
कुशल मल्लले २ विकेट लिँदा डेब्यू खेलाडी प्रतिश जिसीले १ विकेट हात पारे। करण केसी र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।
आजबाट नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज युएईमा सुरु भएको हो।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा छ।
छैटौं स्थानको नेपालले आज जित हात पारेसँगै २९ खेलबाट २८ अंक जोडेको छ। पुछारको पिएनजीको २९ खेलबाट ५ अंक छ।
अब नेपालले शीर्ष तीनमा पर्न ६ खेल र एकदिवसीय मान्यता जोगाउन ४ खेल जित्नु पर्नेछ।
नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ।